काठमाडौँ – राइड सेयरिङ प्लेटफर्म पठाओको सेवा अवरुद्ध भएको छ । उपत्यकाका विभिन्न स्थानमा ट्याक्सी चालक र पठाओको चालकहरु बीच भएको तनाव पश्चात मंगलबारबाट पठाओको सेवा अवरुद्ध भएको हो।
पठाओले आफ्नो फेसबुक पेज मार्फत सेवा अवरुद्ध भएको जानकारी दिएको छ। सेवा अवरुद्ध हुनुलाई पठाओ नेपालले प्राविधिक कारण मात्रै भनेको छ। सेवा अवरुद्ध भएको जानकारी गराएपनि के-कति कारणले सेवा अवरुद्ध भएको हो भन्ने बारे पनि कम्पनीले केहि पनि खुलाएको छैन।
लगातार लफडा
ट्याक्सी भन्दा सस्तोमा सेवा दिँदै आएको पठाओ र ट्याक्सी व्यवसायी बीच केहि समय देखि तनाव हुँदै आएको छ। गएका केहि दिनमा मात्रै उपत्यकाका विभिन्न स्थानमा ट्याक्सी व्यवसायी र पठाओ राइडरहरु बीच घम्साघम्सी भएका छन्।
कलङ्की,बानेश्वर, नयाँ बजार, बालाजु, काँडाघारी र सामाखुसी गरी काठमाडौँका धेरै स्थानमा पठाओ र ट्याक्सी व्यवसायीहरु बीच विवाद भइसकेको छ। पठाओ तथा टुटलका राइडरहरुले चोक–चोकमा बसेर यात्रु बोक्न थालेपछि ट्याक्सी व्यवसायीहरुले विरोध जनाउँदै आएका छन्।
भोलिदेखि पठाओ चल्न नदिइने
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार देखि पठाओ-टुटल चल्न नदिने भएको छ। पछिल्ला घटनाहरुलाई मध्ये नजर गर्दै महाशाखाले पठाओ-टुटल चल्न नदिने भएको हो।
पठाओ राइडर सडकमा भेला हुँदा सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको भनाई छ। पठाओ-टुटल चलाएको पाइए कारवाही गर्ने महाशाखाको तयारी छ।