सामूहिक रुपमा भेला भई होली मनाउन रोक !

दमौली – कोभिड सङ्क्रमणको जोखिम बढेपछि तनहुँमा सामूहिक रुपमा भेला भई होली नमनाउन आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भीडभाड गरेर होली नमनाउन आग्रह गरेको हो ।

फागुपूर्णिमाको अवसरमा सामूहिक रुपमा भेला भई भीडभाड गरी होली मनाउँदा जोखिम बढ्न सक्ने भएकाले सबैलाई उक्त अनुरोध गरिएको हो । कोरोना भाइरसको प्रकोप छिमेकी मुलुक भारतमा थप क्रियाशील भई सङ्क्रमितको दर बढ्दै गएको र मृत्युदरमा वृद्धि भएको सन्दर्भमा खुला सिमानाका कारण मानिसको आवतजावत बढिरहेकाले तनहुँ पनि जोखिम रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए।

बैठकले रात्रिकालीन समयमा सञ्चालन हुने व्यवसायको सन्दर्भमा सङ्क्रमणको अवस्थालाई विचार गरी राति १० बजेपछि बन्द गराउने निर्णय गरेको छ । बैठकले जात्रा, मेला महोत्सव, कन्सर्ट तथा भीडभाड हुने कार्यक्रम गर्न पनि रोक लगाएको छ । सबै स्थानीय तहले भारतलगायत तेस्रो मुलुकबाट आउने व्यक्तिको लगत राखी निगरानी गर्ने गराउने निर्णय पनि बैकले गरेको छ ।

खुल्लामैदान यथास्थितिमा राख्न माग गर्दै हस्ताक्षर अभियान

तनहुँको सदरमुकाम दमौलीस्थित खुल्ला मैदानमा उद्यान निर्माण शुरु भएपछि त्यसको विरोधमा हस्ताक्षर सङ्कलन थालिएको छ । जिल्ला समन्वय समिति तनहुँको स्वामित्वमा रहेको खुल्ला मैदानमा सर्वदलीय निर्णय बमोजिम व्यास नगरपालिकाले उद्यान निर्माण शुरु भएपछि स्कूल अफ डेमोक्रेसीको नेतृत्वमा आजबाट हस्ताक्षर सङ्कलन अभियान थालिएको हो ।

खुल्ला मैदानलाई यथास्थितिमै राख्नुपर्ने मागसहित हस्ताक्षर अभियान चलाइएको उक्त संस्थाका अध्यक्ष डम्बरबहादुर अधिकारीले जानकारी दिए। भूकम्प गएका बेला सर्वसाधारणलाई आश्रय दिएको उक्त मैदानमा संरचना निर्माण गर्न लागेपछि आफूहरु विरोधमा उत्रिनुपरेको अधिकारीले बताए।

खुल्ला मैदानमा पार्क निर्माण कार्य प्रारम्भ भएपछि व्यक्त भएका टिप्पणीप्रति व्यास नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले प्रेस विज्ञप्ति जारी गरी सर्वदलीय बैठकबाट सहमति भई पार्क निर्माण कार्य शुरु गरिएको जानकारी गराए। स्थानीय तहको पुनःसंरचना पछि उक्त चौरमा करीब आधा खुल्ला चौर राख्ने र बाँकीमा ज्येष्ठ नागरिक, बालबालिका, अस्पताल नजिक हुँदा बिरामीका लागि मनोरञ्जनका लागि खुल्ला पार्क निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, चैत १०, २०७७१९:४२

समुन्द्री किनारमा प्रियंकाले देखिन निकको सपना, लेखिन यस्तो क्याप्शन!