एन्टोनियो कासानोका अनुसार युभेन्टस सुपरस्टार क्रिस्टियानो रोनाल्डो पहिलेको जस्तो खेलाडी रहेनन् र क्लबका प्रशिक्षक आन्द्रे पिर्लोको मुख्य समस्या भएको बताएका छन्। रियल म्याड्रिडमा ९ वर्षीय उत्कृष्ट करियरपछि पोर्चुगिज कप्तान २०१८ मा इटालियन महारथी युभेसँग अनुबन्ध भएका थिए।
तर उनको आगमनपछि युभेन्टसले च्याम्पियन्स लिगमा आफ्नो स्तरको प्रदर्शन गर्न सकिरहेको छैन। च्याम्पियन्स लिग जित्नको लागि भनेर रोनाल्डो अनुबन्ध गरेको ओल्ड लेडी त्यसपछि प्रतियोगिताको अन्तिम ८ बाट अगाडी बढ्न सकेको छैन। यो सिजन इटालियन सरी-ए उपाधिको दौडमा पनि निकै पछि परेको युभेको मुख्य समस्या नै रोनाल्डो रहेको कासानोको भनाइ छ।
पूर्व रियल म्याड्रिड तथा इटाली स्ट्राइकरले क्रिश्टियन भेरीको ट्विच च्यानल बोबो टिभीमा भने,”युभेन्टसले पछिल्लो २०-३० वर्षको अवधिमा इटालीमा सब भन्दा राम्रो फुटबल उत्पादन गर्ने प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई हटायो र उनको एक मात्र समस्या थियो: क्रिस्टियानो रोनाल्डो। [माउरिजियो] सार्रीको लागि पनि यस्तै थियो र यो पिरलोको लागि हो।”
“यदि तपाईले [निश्चित प्रकारको] फुटबलको मार्ग रोज्नु भएको छ भने रोनाल्डो राम्रो खेलाडी रहेनन्। उनलाई गोल गर्नको लागि बल दिनुपर्छ। उनी ४-५ वर्ष पहिलेको जास्तो खेलाडी रहेनन्,” उनले भने,”युभेले रोनाल्डोलाई च्याम्पियन्स लिग जित्नको लागि अनुबन्ध गरेको थियो र यो असफल भयो।”
२०१८ मा इटालियन च्याम्पियनसँग अनुबन्ध भएका ३६ वर्षीय रोनाल्डोले युभेन्टसका लागि अहिलेसम्म १२३ खेल खेल्दै ९५ गोल गरिसकेका छन्। जारी सिजनमा पनि उनले कुल ३५ खेल खल्दै ३० गोल गरिसकेका छन्।