भीम रावलको आक्रोश -‘सत्ता जोगाउन नेपालको अस्मिताविपरीत साँठगाँठ गर्ने?’

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष डा. भीम बहादुर रावलले एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विदेशी शक्तिहरूसँग साँठगाँठ गर्न तल्लिन रहेको आरोप लगाएका छन्।

रावलले बुधबार एक ट्वीट गर्दै प्रधानमन्त्री ओली सत्ता र कुर्सी जोगाउनका लागि विदेशी शक्तिहरूसँग साँठगाँठ गर्न तल्लिन रहेको गम्भीर आरोप लगाएका हुन्।

सत्ता जोगाउन नेपालको अस्मिताविपरीत र देशलाई दिर्घकालिन असर पार्ने साँठगाँठमा ओली जुटेको आरोप रावलको छ। नेपालको अस्मितासँग गाँसिएको नागरिकतालगायतका दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग ओलीले साँठगाँठ गरिरहेको भन्दै रावलले देशभक्त नेपाली सजग हुनुपर्ने बताएका छन्।

यस्तो छ रावलको ट्वीट –

प्रम केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकतालगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ। देशभक्त नेपाली सजग होअ‍ौं!

पछिल्लो समय ओलीले जनता समाजवादी पार्टी(जसपा)का नेताहरुसँग सत्ता साझेदारीका विषयमा लगातार छलफल गरिरहेका छन्। जसपाका नेताहरुले ओली सँग संविधान संशोधन सहितका विभिन्न मागहरु ओली समक्ष राख्दै आएका छन्। जसपाको मागमा नागरिकता सम्बन्धि संशोधन पनि छ। सोहि विषयलाई जोडेर नेता रावलले ओली माथि साँठगाँठको आरोप लगाएको बुझिएको छ।

प्रकाशित : बुधबार, चैत ११, २०७७१३:५८

भारतमा कोरोना भाइरसबाट एकै दिनमा २७५ को मृत्यु