काठमाडौँ – सरकारले काठमाडौंका महत्वपूर्ण स्थानका सरकारी/सार्वजनिक जग्गा भूमाफियाले भोगचलन गरेको फेला पारेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तयार पारेको प्रतिवेदन अनुसार भूमाफियाहरूले मिलेमतोमा अनामनगर, बानेश्वर, भीमसेनगोला, चाबहिल, बल्खु, बालुवाटार, धापासीलगायत दर्जनौं स्थानमा सयौं रोपनी सरकारी जग्गा हडपेका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले हालै सरकारी/सार्वजनिक जग्गाको अवस्थाबारे अनुसन्धान गरेको थियो। त्यसक्रममा सयौं रोपनी सरकारी/सार्वजनिक जग्गामा भूमाफियाले भोगचलन र दर्तासमेत गरेको फेला परेको हो।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टले भूमाफियाहरूले सरकारी जग्गा हडपेको अनुसन्धानबाट देखिएको बताए। उनले सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने कामलाई जिल्ला प्रशासन कार्यालयले तदारुकताका साथ अगाडि बढाउने बताए। प्रतिवेदनले समेटेका जग्गामा बनाइएका संरचना स्थानीय तहसँगको समन्वयमा हटाइने उनले बताए।
‘केही अतिक्रमित संरचना हटाउन सम्बन्धित स्थानीय तहलाई पत्राचार गरिसकिएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी भट्टले भने, ‘तिनको अवस्था विषयमा बुझ्छौं र त्यस्ता अतिक्रमित संरचना हटाउन प्राथमिताका साथ लाग्छौंं।’ अतिक्रमित सरकारी/सार्वजनिक जग्गा कानुनअनुसार संरक्षण गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको उनले बताए।
प्रतिवेदन अनुसार अनामनगरस्थित धोबीखोला करिडोरअन्तर्गतको सार्वजनिक जग्गा इन्द्र चाम्लिङले अतिक्रमण गरेको देखिएको छ। उक्त ठाउँमा रहेको सार्वजनिक जग्गामा चाम्लिङले घरटहरा बनाई भाडामा दिएका छन्। प्रचलित कानुनअनुसार सार्वजनिक जग्गा व्यक्तिले अतिक्रमण गरी संरचना बनाएर भाडामा लगाउनु ठगी हो। उनले सार्वजनिक जग्गामा निर्माण गरेको संरचनाबाट मासिक लाख रुपैयाँभन्दा बढी भाडा उठाउने गरेका छन्। चाम्लिङले काठमाडौं महानगरपालिका सिट नम्बर ११४६–०२ अन्तर्गत कित्ता नम्बर ५४९ लगायतका जग्गा अतिक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै धोबीखोला करिडोरअन्तर्गतकै काठमाडौं महानगरपालिका–१०, देवीनगरमा अष्टमान महर्जनले आफ्नो घरसँगै रहेको सार्वजनिक जग्गामा सटर निर्माण गरी भाडामा लगाएका छन्। बानेश्वरमा पनि कर्मचारी र भूमाफियाको मिलेमतोमा ललितादेवी पराजुलीको नाममा सरकारी जग्गा दर्ता गराइएको पाइएको छ। अनामनगरस्थित कित्ता नम्बर १० को एक रोपनीभन्दा बढी जग्गा टेकबहादुर पौडेल, कुलबहादुर निरौलालगायतले अतिक्रमण गरी निजी स्कुल सञ्चालन गरिरहेको प्रतिवेदनमा खुलाइएको छ। भीमसेनगोलामा रहेको सरकारी तथा सार्वजनिक जग्गा कुलरत्न कंसाकारसमेत गरी ९ जनाको नाममा दर्ता गराइसकेको तथ्य पनि अनुसन्धानबाट फेलापरेको छ।
बालुवाटारस्थित करिब ३ रोपनी सरकारी जग्गा पनि विभिन्न व्यक्तिले अतिक्रमण गरी घरटहरा बनाएको प्रतिवेदनमा उल्लेख छ। डल्लुमा राजकुलो अतिक्रमण गरी घरटहरा निर्माण गरी हालसाबिक गर्ने प्रक्रिया अघि बढाइएको अनुसन्धानले देखाएको छ। सरकारको नाममा दर्ता रहेको काठमाडौं महानगरपालिका–१०, वाग्मती नदी क्षेत्रको कित्ता नम्बर ४३९ र कित्ता नम्बर ४४१ को जग्गा पनि भूमाफियाले अतिक्रमण गरेका छन्। बालाजुमा पनि करिब ३ रोपनी सरकारी जग्गा अतिक्रमण गरिएको छ।
यसैगरी चाबहिलस्थित करिब दुई रोपनी सरकारी जग्गा दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरले अनधिकृत कब्जा गरी त्यसमा भवन बनाएर अस्पताल सञ्चालन गरिरहेको प्रतिवेदनमा उल्लेख छ। सामाखुसी खोला किनारमा रहेको सार्वजनिक जग्गापनि अतिक्रमणमा परेको छ।