पूर्व इटालियन खेलाडी एन्टोनियो कासानो प्राय: क्रिस्टियानो रोनाल्डोको बारेमा आलोचना गरिरहेका हुन्छन्। यस्तोमा फेरी एक पटक उनी रोनाल्डो माथि बर्सेका छन्। लगातार ९ वर्ष उपाधि जितेको युभेन्टस यो सिजन भने उपाधि दौडमा निकै पछि परेको छ।
यस्तोमा क्लबका मुख्य खेलाडी रोनाल्डो र क्लबको चौतर्फी आलोचना भइरहेको छ। अन्तिम खेलमा बेनेभेन्टोसँग १-० ले पराजित भएसँगै युभे लिग लिडर इन्टर मिलान भन्दा १० अंकले पछि परेको छ। युभे च्याम्पियन्स लिगमा पनि अन्तिम १६ बाट नै बाहिरीसकको छ।
३६ वर्षिया पोर्चुगिज कप्तान रोनाल्डोले यो सिजन इटालियन च्याम्पियनको लागि सबै प्रतियोगितामा ३० गोल गरिसकेका छन् तर कासानोका अनुसार रोनाल्डोको उपस्थितिले क्लबका अन्य सदस्यमा नकारात्मक असर परेको छ।
पूर्व रियल म्याड्रिड खेलाडीले बोबो टिभीलाई भने,”यदि तपाईंले रोनाल्डोलाई बेच्नु भयो भने त्यो १०० मिलियनले टप क्वालिटीका एक भन्दा धेरै खेलाडी किन्न सकिन्छ। रोनाल्डोले टिमको बारेमा सोच्दैनन्। उनी आफ्नै गोल र रेकर्डको बारेमा मात्र सोच्ने खेलाडी हुन्।”
कासानोले रोनाल्डोको आलोचना गरेको भने यो पहिलो पटक हैन। च्याम्पियन्स लिगको अन्तिम १६ चरणको खेलको पहिलो लेगमा पोर्टोसँग हारेपछि रोनाल्डोलाई स्वार्थी खेलाडी भनेका थिए।