काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोले संसदीय दलको नेता बन्ने आकांक्षा राखेपछि नेता चयन हुन सकेको छैन। तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएर बनेको जसपाले एक वर्ष हुन लाग्दा पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन। पार्टीभित्र सहमति हुन नसक्दा दलको नेता चयन हुन नसकेको हो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
एकीकृत भए पनि सिंहदरबारमा तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टी संसदीय दलका अलगअलग कार्यालय छन्। यसैगरी एकीकरणअघिकै अवस्थामा अलगअलग संसदीय दलका नेता र अलगअलग प्रमुख सचेतक छन्। तत्कालीन समाजवादी पार्टीका तर्फबाट संसदीय दलको नेता उपेन्द्र यादव र प्रमुख सचेतक उमाशंकर अरगरैया छन्। तत्कालीन राष्ट्रिय जनता पार्टीका तर्फबाट संसदीय दलको नेता महन्थ ठाकुर र प्रमुख सचेतक लक्ष्मणलाल कर्ण छन्। एउटै संसदीय दल बनाउन जसपाका शीर्ष नेताहरू केही दिनदेखि गृहकार्यमा छन्।
दलको नेता कसलाई चयन गर्ने भन्नेमा पार्टीभित्र गम्भीर विवाद उत्पन्न भएकाले सहमति हुन सकेको छैन। स्रोतका अनुसार जसपाका पहिलो अध्यक्ष महन्थ ठाकुर संसदीय दलको पनि नेता हुन चाहेका छन्। जसपाका दोस्रो अध्यक्ष उपेन्द्र यादव पनि संसदीय दलको नेता हुन चाहन्छन्। जसपाका अर्का नेता राजेन्द्र महतो पनि संसदीय दलको नेता बन्न चाहन्छन्।
गत वर्ष महतोलाई दलको नेता दिने सहमति भएको उनी निकट नेताहरूको दाबी छ। यो कुरा महतो पनि सही भएको बताउँछन्। ‘त्यस किसिमको सहमति भएर मात्र हुँदैन, कार्यान्वयन पनि गर्नु पर्यो’, उनले भने। दुई पार्टीबीचको एकीकरणमा महतोको ठूलो भूमिका भएकाले उनैलाई संसदीय दलको नेता दिनुपर्ने माग उनी निकट नेताहरूको छ।
नयाँ सत्ता समीकरणमा जसपाले सरकारको नेतृत्व पाउने अवसर पायो भने संसदीय दलको नेता नै प्रधानमन्त्री हुने भएकाले आकांक्षी धेरै देखिएका हुन्। होलीपछि मात्र यस विषयमा निर्णय हुने जसपाका नेताहरूले बताएका छन्। तर आकांक्षी धेरै हुँदा नेता चयन गर्न कठिन भएको स्रोतको दाबी छ। जसपाका शीर्ष नेताहरूले भने सहमतिमा संसदीय दलको नेता चयन हुने बताउँदै आएका छन्। ‘तर सहमति हुन नसक्दा नेता चयन गर्न समस्या भएको छ’, जसपाका एक सांसदले भने।