इटालियन क्लब युभेन्टसले आफ्ना स्टार खेलाडीको ७७० औं गोल मनाउनको लागि उनलाई ‘गोट’ लेखिएको जर्सीका साथ सम्मान गरेको छ। क्याग्लियारीसँगको खेलमा गरेको ह्याट्रिकसँगै रोनाल्डोले ब्राजिलियन लेजेन्ड पेलेको ७६७ गोलको रेकर्ड तोडेका थिए।
गत आइतबार बेनेभेन्टो विरुद्धको खेलअघि क्लबका अध्यक्ष एन्ड्रिया अग्नेलीले ३६ वर्षीय पोर्चुगिज कप्तानलाई उनको उल्लेखनीय उपलब्धीको लागि विशेष शर्ट गिफ्ट गरे। रोनाल्डोलाई ‘गोट ७७०’ लेखिएको जर्सीका साथ सम्मान गरिएको हो।
रोनाल्डोले आफ्नो करियरको अधिकांश गोल स्पेनमा गरे। २००९ मा रियल म्याड्रिडसँग अनुबन्ध भएका रोनाल्डोले स्पेनिस क्यापिटलमा ९ वर्ष बिताउँदै म्याड्रिडका लागि ४५० गोल गरेका छन्। उनी रियल म्याड्रिडको क्लब इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्।
त्यस्तै, उनले म्यानचेस्टर युनाइटेडका लागि ११८ गोल गरेका छन् भने युभेन्टसका लागि कुल ९५ गोल गरेका छन्। ५ पटकका ब्यालुन डी ओर विजेताको नाममा स्पोर्टिंग क्लबका लागि ५ गोल छ भने पोर्चुगल राष्ट्रिय टोलीको लागि १०२ गोल गरिसकेका छन्।
यस्तोमा, के अब क्रिस्टियानो रोनाल्डोलाई फुटबलको ‘गोट भन्न मिल्ला त ?