माधव नेपाल र भीम रावललाई कारवाही गर्ने ओलीको सङ्केत !

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाल र भीम रावल माथि कारवाही गर्ने सङ्केत गरेका छन्। शुक्रबार बसेको संसदीय दलको बैठकमा बोल्नेक्रममा ओलीले नेता नेपाल र रावललाई कारवाही गर्ने सङ्केत गरेका हुन्।

पार्टीले सोधेको स्पष्टिकरणका माधव कुमार नेपाल र भीम रावलको स्पष्टीकरण नकारात्मक आएको भन्दै ओलीले कारवाहीयोग्य रहेको बताए। एमाले सचेतक विशाल भट्टराईले ओलीले नेपाल र रावलको स्पष्टीकरण कारवाहीयोग्य रहेको बताएको जानकारी गराए।

“तत्कालीन वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरण आएको छ। अरू दुई जना नेताको स्पष्टीकरण आउन बाँकी छ। नेपाल र रावलको स्पष्टीकरण कारवाहीयोग्य रहेको प्रधानमन्त्रीको भनाइ छ। यसबारे केन्द्रीय कमिटीबाटै थप निर्णय लिन्छौं भनेर उहाँले भन्नुभएको छ।”,ओलीको भनाईलाई उद्धृत गर्दै भट्टराईले भने।

पार्टीको हितविपरीत गतिविधि गरेको आरोप लगाउँदै नेकपा एमालेले वरिष्ठ नेता नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको थियो । जस मध्ये सुरेन्द्र पाण्डे र घनश्याम भुसालले स्पष्टीकरण पठाउन बाँकि छ। शुक्रबारको बैठकमा ओलीले पाण्डे र भुसालले पार्टी एकढिक्का राख्न मद्दत पुग्ने खालका स्पष्टीकरण दिने अपेक्षा ओलीले व्यक्त गरे।

“प्रधानमन्त्रीले भनेको शब्द यही हो- प्राप्त भएका स्पष्टीकरण नकरात्मक र कारवाहीको भागीदार छ। बाँकी दुई जनाको त्यो कोणबाट नभई पार्टी एकढिक्का राख्न मद्दत पुग्ने खालका स्पष्टीकरण आउनेछ भन्ने अपेक्षा राखेको छु भनेर प्रधानमन्त्रीले भन्नुभएको छ।”,भट्टराईले भने।

प्रकाशित : शुक्रबार, चैत १३, २०७७१७:५७

उडान खुल्यो, मौसम खुलेन ! कहिलेबाट हट्ला धुलो र धुवाँ ?