ज्योति लाइफ इन्सुरेन्सको आइपिओको नतिजा भर्खरै लाइभ !

काठमाडौँ – ज्योति लाइफ इन्सुरेन्सको आइपिओको रिजल्ट सार्वजनिक भएको छ। शुक्रबार बाँडफाँट भएको ज्योति लाइफ इन्सुरेन्सको आइपिओ नतिजा ढिला गरी भर्खरै सार्वजनिक भएको हो।

ज्योति लाइफ इन्सुरेन्सबाट आइपिओको नतिजाको डाटा ढिला गरी प्राप्त हुँदा आइपिओ नतिजा लाइभ हुन ढिला भएको सीडीएससीले जनाएको छ।

आइपिओको नतिजा मेरोशेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।

गत फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ४४ हजार ६४५ को आवेदन रद्द भएको छ ।

योग्य कायम भएका १७ लाख ९७ हजार ८३५ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ । योग्य आवेदकमध्ये गोलाप्रथाबाट पाँच लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्रीजेश घिमिरेले जानकारी दिए। उनका अनुसार आवेदन दिएकामध्ये १२ लाख ४८ हजार आवेदकको हात खाली भएको छ ।

कम्पनीले १०० अङ्कित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्कासन गरेको हो । जसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको थियो भने तीन लाख ३३ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरिएको थियो ।

यस्तैगरी, बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था थियो । आइपिओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड पुग्नेछ । फागुन २४ गते महिला दिवस र २२ गते शनिबारको सार्वजनिक बिदा परेकाले कम्पनीको आइपिओ कूल ६ दिन बिक्री खुला रहेको थियो ।

प्रकाशित : शुक्रबार, चैत १३, २०७७१८:५९

कोदोको रक्सीलाई ब्राण्ड बनाउने नारा लागू गर्नेछु : मन्त्री राई