एजेन्सी : बलिउड अभिनेता सोनु सूदले महामारी कोभिड-१९ को कारण लागेको लकडाउनमा प्रवासी मजदूर र सहयोग खाँचो पर्नेहरुलाई जुन सहयोग गरे, त्यो कसैले पनि भुलेका छैनन्। अहिले विश्वभरी सोनुको भलाईको कामको तारिफ भईरहेको छ। लकडाउन पछि पनि सोनू सूदले सहयोगको हात रोकेनन्। उनले लगातार सहयोगको लागि आग्रह गर्नेहरुलाई मद्दत गरिरहे। अहिले उनले ‘बेटी पढाओ, बेटी बचाओ’ अभियानलाई अगाडी बढाउने काम गरेका छन्। सोनु सुदलाई यस अभियानलाई हवाल दिँदै सहयोगको आह्वान गरिएको थियो। सोनुले सहयोगको प्रतिबद्धता जाहेर गर्नुको साथै एक खास सन्देश दिएका छन्।
भारतमा कोरोनाको कारण लागेको लकडाउनको कारण विद्यार्थीको पढाईमा निकै असर परिरहेको छ। सुरक्षालाई ध्यानमा राख्दै अहिले भारतमा विद्यालयहरु बन्द छन्। प्राय: विद्यालयहरुमा अनलाइन क्लासको विकल्प राखिएको छ। जहाँ एक तर्फ शहर र सम्पन्न परिवारसँग अनलाइन क्लास लिने सुविधा छ भने अर्कोतिर धेरै यस्ता परिवारहरु छन् जो सँग एउटा गतिलो स्मार्टफोन पनि छैन। यहीँ कारण बालबालिकालाई क्लास लिन अत्यन्तै कठिन भईरहेको छ। खासगरी बालिकाहरुलाई समस्या धेरै छ।
यहीँ समस्याको कारण भारतको उत्तर प्रदेशको एक समाजसेवी संस्था ‘वात्सल्य’ ले विद्यालयका छात्रालाई मोबाइल उपलब्ध गराउन सोनु सूदलाई गुहारे। उक्त संस्थाले ट्वीट गर्दै लेखेको छ – ‘३०० बच्चीको भविष्य अब तपाईको हातमा छ सर। लकडाउन भारी मोबाइल फोन नभएको कारण बच्चीहरुले पढ्न पाएनन्। तपाईको सहयोगले युपीका यस गाउँका ३०० परिवारको भविष्य बदलिन् सक्छ। कृपया सहयोग गरिदिनुहोला सर।’ साथै पोस्टसँगै पढ्दै गरेका छात्राको फोटो पनि शेयर गरिएको छ।
उक्त संस्थाको यस पोस्टमा जवाफ दिँदै सोनु सूदले रिट्वीट गरेका छन्। उनले लेखेका छन् – ‘३०० परिवारका यी बच्चीहरुको अनलाईन क्लास अब अहिले छुट्ने छैन। यिनका लागि मोबाइल फोन यहीँ हप्ता आइपुग्छ।’
हालै सोनु सूदले दिल्लीमा उपचाररत एक जना नेपाली युवकलाई उपचारमा सघाएका थिए । एंकिलोजिङ स्पोन्डिलाइटिस रोगबाट पीडित मधु पौडेल नाम गरेका एक नेपाली युवकको उपचारमा कलाकार सूदले सहयोग गरेका थिए। मधुले ट्विटरमा एउटा भिडियो पोस्ट गर्दै सूदसँग सहयोगको लागि अपिल गरेका थिए । उनले लेखेका थिए – ‘हेल्लो सर, म नेपालबाट मधु पौडेल हुँ । १० वर्षदेखि म एंकोलोजिङ स्पोन्डिलाइटिस(Ankylosing Spondylitis) रोगबाट पीडित छु । यसैका कारण मैले कक्षा १० मै पढाइ छाड्नुपऱ्यो । एम्स अस्पतालका डाक्टरहरुले मलाई अपरेसन गर्न सुझाव दिएका छन् तर मसँग त्यसका लागि पैसा छैन । कृपया मलाई सहयोग गरिदिनुहुन्छ कि ।’ यसको जवाफमा सोनुले लेखेकाथिए, ‘अतिथि देवो भव: । भारतबाट तपाई आफ्नो देश नेपाल बिनालट्ठी दौडँदै जानुहुनेछ ।’