काठमाडौं । नेकपा एमालेभित्र देखिएको विवादले झनै जटिल मोड लिने अवस्था सिर्जना हुन थालेको छ । पार्टीले सोधेको स्पष्टिकरणमा अध्यक्ष केपी शर्मा ओलीमाथी नै प्रश्नेका वर्षा गर्दै माधवकुमार नेपाल र भिम रावलले पत्र पठाएपछि विवाद झनै उत्कर्षमा पुगेको छ । अध्यक्ष एंव प्रधानमन्त्री ओलीले पार्टी विरोधी गतिविधि गरेको भन्दै नेपाल र रावललाई कारवाहीको संकेत गरेपछि विवाद जटिलतातर्फ अग्रसर भएको हो । नेपाल पक्ष ओलीसँग नझुक्ने र ओली पक्ष सो समुहका केही नेतालाई कारवाही गर्ने तयारी गरेपछि पार्टी विभाजनतर्फ जाने अग्रसर देखिएको छ । यद्यपी ओलीले कस्तो कारवाही गर्ने भनेर केही खुलाएका छैनन् । शुक्रबारको संसदीय दलको बैठकमा यी दुवै नेता अनुपस्थित भएपछि ओलीले उनिहरुलाई नै लक्षित गरेर सम्बोधन गरेका थिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
ओलीले नेपाल र रावलले दिएको स्पष्टिकरण कारवाहीको भागिदारी भएको बताए । उनले विधानअनुसार कारवाही प्रक्रिया अगाडी बढ्ने र केन्द्रीय कमिटीले त्यसको अन्तिम निर्णय लिने जानकारी सांसदलाई गराएका थिए । दलको बैठकमा प्रधानमन्त्री ओलीले आएका दुई वटा स्पष्टिकरण अत्यन्त नकरात्मक रहेको त्यो कारवाहीको भागिदार रहेको बताएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । धनश्याम भुषाल र सुरेन्द्र पाण्डेले भने स्पष्टिकरण पत्र नबुझाएको उनले बताए ।
‘केन्द्रिय कमिटीको औपचारिक बैठक गरेर चार जना नेतालाई स्पष्टिकरण सोधेका हौं, पार्टीमा विधान विपरित काम गर्ने र सडकहरुमा बसेर पार्टी अध्यक्षलाई हटाउने, दलको नेतालाई सम्म हटाउने काम तपाईहरुले गर्नुभयो । हामीले त कम्तीमा त्यत्ति त गरिनौं नि !’, प्रधानमन्त्रीको को भनाई उदृत भट्टराईले भने, ‘दुई जनाको स्पष्टिकरण आएको छ, त्यो चाँही अत्यन्त नकरात्मक छ । त्यो कारवाहीको भागिदार छ । बाँकी दुई जनाको त्यो कोणबाट नभई पार्टीलाई एकताबद्ध बनाउने गरी आउने अपेक्षा गरेको छु, दुईवटा आएका स्पष्टिकरण चाँही कारवाहीका भागिदार हुन्छन् । कारबाही के हुन्छ भन्ने कुराचाँही केन्द्रीय कमिटीको आगामी बैठकले निर्धारण गर्छ ।’
‘को को दुई जना कारबाहीको भागिदार हुन्छन् त ?’ भन्ने प्रश्नमा प्रमुख सचेतक भट्टराईले भने, ‘हाम्रो पार्टीका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल र तत्कालिन उपाध्यक्ष भिम रावलको स्पष्टिकरण आएको छ, त्यही स्पष्टिकरणमाथी प्रधानमन्त्री ज्यूले टिप्पणी गर्नुभएको हो ।’ अध्यक्ष ओलीले नेपाल समुहले माग गरेजस्तो कुनै पनि कमिटीका निर्णय फिर्ता नलिने पनि स्पष्ट पारेका छन् । फागुन २८ गतेको केन्द्रीय कमिटी र चैत्र ७ गतेको संसदीय दलको निर्णय अहिले फिर्ता हुन नसक्ने बताए ।
‘हामीले पारित गरेको जुन विधान छ, त्यो केन्द्रीय कमिटीले अनुमोदन पनि गरिसकेको अवस्थामा, यो पार्टीको संसदीय दलको विधान हो’, प्रधानमन्त्रीको भनाई उदृत गर्दै प्रमुख सचेतक भट्टराईले भने, ‘आवश्यक पर्यो भने समयअन्तरमा कालान्तरमा संशोधन गर्न सकिन्छ । अपरिवर्तनीय र असंशोधनिय छैन तर अहिले नै यो विधानमा तल माथी गर्न सकिदैन ।’ उनले पार्टीमा गुटको माग लिएर आए आफुले त्यसलाई वेवास्था गर्ने तर, व्यक्तिगत गुनासा, सुझाव र आलोचना आएमा त्यसलाई सुन्ने स्पष्ट पारेका छन् ।