सूर्य थापाले भने – ‘माधव नेपाल र भीम रावललाई ६ महिना पार्टीबाट निलम्बन गरौं’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले देशव्यापी शुद्धीकरण अभियान चलाउनुको विकल्प नरहेको बताएका छन्।

थापाले शुक्रबार सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई कम्तीमा ६ महिना पार्टीबाट निलम्बन गरी देशव्यापी शुद्धीकरण अभियान चलाउनुपर्ने बताएका हुन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली विरुद्ध षड्यन्त्रमा जुटेकाहरुलाई कारवाही नगरे पार्टी अनुशासित, सबल र पार्टीजस्ताे नहुने थापाको भनाई छ। थापाले फेसबुकमा लेखेका छन्,”माधवकुमार नेपाल र भीमबहादुर रावल पिएचडीलाई छ/छ महिना पार्टी केन्द्रीय कमिटीकाे सदस्यबाट निलम्बन गरी देशव्यापी महान शुद्धीकरण अभियान अघि बढाउनुकाे कुनै अर्काे विकल्प छैन ! अनि बल्ल पार्टी अनुशासित, सबल र पार्टीजस्ताे हुन्छ”

माधव नेपाल सहितका नेताहरुले केपी ओली पक्षका नेताहरुलाई कारवाही गरेको र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर पार्टी कब्जा गर्न गरेको प्रयासलाई पनि भुल्न नहुने पनि थापाले बताएका छन्।

थापाले फेसबुकमा यसो लेखेका छन् –

पार्टी अध्यक्ष र प्रधानमन्त्रीसहित हामी एक दर्जनमाथि कारबाहीकाे घाेषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने नियतमा समवेत् श्वरमा श्वर मिलाउन तछाडमछाड गर्ने भ्रममा बाँच्न अभिशप्त दु:खी आत्माहरूलाई पाे आज पार्टी एकता चाहिएकाे रहेछ ! प्रचण्ड र माधव नेपालका इमान्दार नाेकर बनेर पुस ५ गतेयता फागुन २३ गतेसम्म तिनीहरूले बास्तवमा केचाहिँ गर्न बाँकी ?
काेही प्रदर्शनी मार्गमा चिच्याए – केपी शर्मा ओलीलाई बालुवाटारबाट ननिकालेसम्म विश्राम लिन्नाैं !!
काेही कार्की बैक्वेटमा उफ्रिए- केपी शर्मा ओलीलाई साधारण सदस्यबाट हटायाैं !
माझण्ड गुटकाे मलामी बनेका जिउँदा लाशहरू कतिले पेरिसडाँडाबाट कथित निर्णय गरेकाे ऐलान नै गरे – ७ जनालाई पार्टीबाट नै हटायाैं !!!
विचराहरू –
तिनले के के गरेका थिए ?
१.प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष, संसदीय दलकाे नेता, पार्टी सदस्य र साधारण सदस्यबाट एक पटक मात्रै हाेइन, चार पटक निस्काशन गरे ।
२. महासचिव विष्णुप्रसाद पाैडेललाई दुई पटक निस्काशनकाे घाेषणा गरे ।
३. मुख्यमन्त्री शंकर पाेखरेललाई लुम्बिनी प्रदेश इन्चार्जबाट एकपटक निस्कासन गरे ।
४. मुख्मन्त्री पृथ्वीसुब्बा गुरूङलाई गण्डकी प्रदेश इन्चार्जबाट एक पटक निस्काशन गरे ।
५. सुवासचन्द्र नेम्वाङलाई संसदीय दलकाे उपनेताबाट एकपटक निस्काशन गरे ।
६. विशाल भट्टराईलाई संसदीय दलकाे प्रमुख सचेतकबाट निस्कासन एकपटक निस्काशन गरे ।
७. शान्ता चाैधरीलाई संसदीय दलकाे सचेतकबाट एकपटक निस्काशन गरे
८. प्रभु साहलाईलाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाकाे लागि निलम्बन गरे ।
९. कर्णबहादुर थापालाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाकाे लागि निलम्बन गरे ।
१०. गाेकुल बाँस्काेटालाई केन्द्रीय कमिटी सदस्यबाट निलम्बनकाे प्रस्ताव स्थायी कमिटीद्वारा पारित गरी कथित केन्द्रीय कमिटीमा प्रस्तुत गरे, तर उहाँ बुबाकाे किरियामा रहनुभएकाले विराेध भएर केन्द्रीय कमिटीबाट फिर्ता लिए ।
११. सूर्य थापालाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाकाे लागि निलम्बन गरे र
१२. महेश बस्नेतलाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाकाे लागि निलम्बन गरे ।
उल्लिखित कथित कारबाही पार्टी कब्जा गर्न गरिएको थियाे भन्ने स्पष्ट नै छ।
समयले अब त्यस्ताे निर्णय गर्नेहरू सायद जनकारबाहीमा पर्ने निश्चित भएकाे छ –
तैपनि तिनमा कुनै रियलाइजेसन छैन,
अझ उल्टै पार्टी एकताकाे राेइलाे पाे तिनकै पाे छ ?
खासमा पार्टी एकता भत्काउने र भाँड्ने काे थियाे ?
ऐनामा अनुहार हेर्नू पर्दैन ?
अनि,
निशर्त नेकपा (एमाले),
सूर्य चिन्ह,
र केन्द्रीय कमिटीले फागुन २८ गते र त्यस यता गरेका निर्णयहरू तथा केपी शर्मा ओलीकाे मियाेमा आबद्ध भएर अघि बढ्न तयार भई आए पाे स्वागत छ, अन्यथा किन -याई-याईं गर्ने ?
कमसेकम माधवकुमार नेपाल र भीमबहादुर रावल पिएचडीलाई छ/छ महिना पार्टी केन्द्रीय कमिटीकाे सदस्यबाट निलम्बन गरी देशव्यापी महान शुद्धीकरण अभियान अघि बढाउनुकाे कुनै अर्काे विकल्प छैन !
अनि बल्ल पार्टी अनुशासित, सबल र पार्टीजस्ताे हुन्छ !!
नत्र प्रचण्डसँगकाे अघाेषित कार्यगत एकता, हरेक दिनजस्ताे भेटघाट र साँठगाँठ किन चलिरहेकाे छ ?

प्रकाशित : शनिबार, चैत १४, २०७७१०:०९