थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गसँगै बन्ने भयो बजार

काठमाडौँ,  काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको बजार निर्माण हुने भएको छ । बजार निर्माणका लागि जग्गा अधिग्रहण र डिजाइनसमेत तयार भइसकेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ । जापानी प्राविधिकहरूले सुरुङमार्गसँगै सो बजारको समेत डिजाइन गरेको सडक विभागले जनाएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सुरुङमार्ग भएर यात्रा गर्ने यात्रीको सुविधालाई दृष्टिगत गरी धादिङतर्फ सुरुङमार्गको प्रवेशद्वारसँगै ४० रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको बजार (सर्भिस सेन्टर) निर्माण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार सो ठाउँमा बजार विकासको काम सुरु भइसकेको छ ।

उहाँले भन्नुभयो, ‘‘जापानलगायतका अन्य मुलुकमा समेत सुरुङमार्गमा प्रवेश गर्नुअघि यात्रुहरू ‘फ्रेस’ हुने, आराम गर्ने र आवश्यक सरसमान खरिद गर्ने तथा सवारी साधनको समेत सामान्य मर्मत सम्भार गर्न सुरुङमार्गको प्रवेशद्वारमा ‘सर्भिस सेन्टर’ निर्माण गरिएको हुन्छ ।
सोही अवधारणाअन्तर्गत नागढुङ्गा सुरुङमार्ग पनि ‘सर्भिस सेन्टर’ निर्माण गर्न लागिएको हो । ’’

महानिर्देशक थापा अनुसार सुरुङमार्ग निर्माण आयोजनाकै चौथो काम (कम्पोनेन्ट)अन्तर्गत निर्माण हुन लागेको सो बजारमा अन्तर्राष्ट्रियस्तरको डिपार्टमेन्ट स्टोर, होटल, रेस्टुरेन्ट, पेट्रोल पम्प, प्रदर्शनीस्थल, सार्वजनिक शौचालय, गाडी मर्मत केन्द्रलगायतका संरचना निर्माण गरिनेछ । त्यसैगरी स्थानीय किसानको कृषिजन्य उत्पादन तथा परम्परागत हस्तकला उत्पादनका लागि छुट्टै स्टल निर्माण गरिनेछ ।

त्यसैगरी एकै पटकमा कम्तीमा ५० वटा चारपाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्ने पार्किङ स्थल निर्माणका साथै यात्रुलाई खुला ठाउँमा घुमफिर गर्न बजारनजिकै आकर्षक बनाउन बगैँचासमेत निर्माण गरिनेछ । सवारी चालकहरू गाडीहरू एकछिन भए पनि फ्रेस हुन पाउँदा सडक दुर्घटनामा समेत कमी आउने विश्वास गरिएको महानिर्देशक थापाको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘मुलुकको पूर्वााधार विकासको पहिलो प्राथमिकता प्राप्त सो आयोजनाको पहिलो कम्पोनेन्टअन्तर्गत सुरुङमार्ग, दोस्रो कम्पोनेन्टअन्तर्गत पहुँचमार्ग, तेस्रो कम्पोनेन्टअन्तर्गत फ्लाई ओभर र चौथो कम्पोनेन्टअन्तर्गत सो सर्भिस सेन्टर निर्माण गरिनेछ । ’’ निर्माण कम्पनीले सुरुङमार्गसँगै सो बजारसमेत निर्माण गरी सरकारले हस्तान्तरण गर्ने गरी सम्झौता भएको महानिर्देशक थापाले बताउनुभयो ।
बजारको सम्पूर्ण पूर्वाधार तयार गरी सडक विभागले त्यसको व्यवस्थापन तथा सञ्चालनको जिम्मा सुरुङमार्गसँगै रहेको धुनीबेँसी नगरपालिकालाई दिने सरकारको योजना रहेको महानिर्देशक थापाले जानकारी दिनुभयो । सो ठाउँमा बजारको निर्माण तथा सञ्चालनले स्थानीय मौलिक उत्पादनले बजार पाउनुका साथै स्थानीयले रोजगारी पाउनेछन् । यसबाट स्थानीयकोे जीवनस्तर उकासिने विश्वास गरिएको उहाँले बताउनुभयो ।

महानिर्देशक थापाले भन्नुभयो, ‘‘निर्माणाधीन सर्भिस सेन्टर नेपालको इतिहासमा नै पहिलो पटक राजमार्गका यात्रुलाई लक्षित गरी निर्माण गर्न लागिएको हो । अहिलेसम्म नेपालको कुनै पनि राजमार्गमा यात्रु लक्षित गरी सर्भिस सेन्टर निर्माण गरिएको छैन । ’’ विकसित मुुलुकको राजमार्गमा करिब ४०÷५० किलोमिटरको दूरीमा यसप्रकारका सर्भिस सेन्टर निर्माण गरिएको हुन्छ ।

जापान सहयोग नियोग (जाइका)को करिब १६ अर्ब रुपियाँ सहुलियत ऋण सहयोगमा यो सुरुङमार्ग निर्माण भइरहेको छ । सोही लागतअन्तर्गत नै सर्भिस सेन्टर निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रकाशित : सोमबार, चैत १६, २०७७०८:११

सत्ता टिकिरहनेमा ओली ढुक्क, प्रचण्डलाई भने टाउको दुखाई !