काठमाडौँ – ज्योति लाइफ इन्सुरेन्सले आइपिओ बाँडफाँट गरिसकेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट गरेको हो ।
गत फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दिएका थिएकोमा ४४ हजार ६४५ को आवेदन रद्द भएको थियो ।
योग्य कायम भएका १७ लाख ९७ हजार ८३५ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट गर्दा पाँच लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएको एनएमबी क्यापिटलले जनाएको छ।
आवेदन दिएका ३ जनामध्ये १ जनालाई मात्र शेयर
ज्योति लाइफ इन्सुरेन्सको साधारण शेयर ३२.२४ प्रतिशतले मात्र पाएका छन्। आवेदन दिने ६७.७६ प्रतिशतको हात खालि भएको छ। यस अर्थमा साधारण शेयरका लागि आवेदन दिने ३ जना मध्ये १ जनाले मात्र शेयर पाएका छन्।
कतिमा शुरु होला कारोबार ?
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्म १ अर्ब ४४ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । कम्पनीले वार्षिक रुपमा प्रतिशेयर १४ रुपैयाँ आम्दानी गर्दै आएको छ। ज्योति लाइफ इन्सुरेन्स प्रतिशेयर नेटवर्थ १३२.९४ रुपैयाँ छ। नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्न सकिन्छ।
यस कारण ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. १३२ दशमलव ९४ देखि ३९८ दशमलव ८२ सम्म रहनेछ।