अब दुईपांग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) का लागि आफ्नै बाइक वा स्कुटर प्रयोग गर्न पाइने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लाई सैद्धान्तिक सहमति दिएसँगै यस्तो व्यवस्था गरिएको हो। कार्यविधि निर्देशिका २०७७ अनुसार प्रयोगात्मक परीक्षा दिने परीक्षार्थीले ट्रायल दिनको लागि आफैँले सवारीसाधनको व्यवस्था गर्न सक्ने भएका छन्।
मोटरसाइकल वा स्कुटर पेट्रोलबाट चल्ने, इन्जिनको विस्थापन आयतन कम्तीमा ९५ सीसी, ह्विल बेल कम्तीमा १२ सय मि.मि हुन आवश्यक पर्नेछ। त्यस्तै, मोटरसाइकलको हकमा हिल होल्ड, हिल एसिस्ट वा समान प्रकृतिको प्रणाली जडान नभएको, म्यानुअल ट्रान्समिसन प्रणाली भएको, सवारी दर्ता प्रमाणपत्र अद्यावधिक भएको र बहाल अवधि बाँकी रहेको तेस्रो पक्षको बीमा भएको हुनै पर्नेछ।
त्यस्तै, दुईपांग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० अंक ल्याएमा परीक्षा पास हुने व्यवस्था आउँदो जेठ १ गतेबाट लागू हुने भएको छ। हालको नियम अनुसार प्रयोगात्मक परीक्षामा कुनै गल्ती भए मात्र पनि फेल हुने व्यवस्था रहेको छ अर्थात् सत प्रतिशत अंक नै ल्याउनुपर्ने व्यवस्था छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लाई सहमति दिएसँगै यातायात व्यवस्था विभागले जेठ १ गतेबाट लागू गर्ने भएको हो। मन्त्रालयले सहमति दिएको कार्यविधिमा विभागले कार्यान्वयन मिति तोके लगत्तै ट्रायलमा कम्तीमा ७० अंक ल्याए पास भइनेछ।