‘ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारे’

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने काम गरिरहेको आरोप नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले लगाएका छन् । नेता नेपाल र भिम रावललाई साधारण सदस्यबाट ६ महिना निलम्बन गरेको भोलीपल्ट सो समुहका नेताहरुले संयुक्त वक्तव्य निकालेर ओलीमाथी आरोप लगाएका हुन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

ओलीको क्रियाकलापले पार्टीलाई विभाजनमा लगेको समेत उनिहरुले निष्कर्ष निकालेका छन् । ‘नेपाली जनताले ५ वर्षका लागि निर्वाचित गरेको प्रतिनिधिसभालाई असंवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा (एमाले) विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण काम भइरहेका छन्’, खनाल–नेपाल समूहले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा एमालेको तत्कालिन स्थायी कमिटीका ११ सदस्य रहेका छन् । उनिहरुले पार्टीलाई जोगाउने आफूहरूको प्रस्ताव ओलीले अस्वीकार गरेको पनि आरोप वक्तव्यमा लेखेका छन । ‘हाम्रो प्रस्ताव व्यक्तिगत स्वार्थ, अहंकार, अराजकता र कम्युनिस्ट आन्दोलनको विसर्जनतर्फ उन्मुख केपी शर्मा ओलीलाई मान्य भएन’, विज्ञप्तिमा अगाडि भनिएको छ ।

फागुन २३ गतेको सर्वोच्चको फैसलापछि ओलीले पार्टीभित्र स्वेच्छाचारी गतिविधि अगाडि बढाएको यो समूहको ठहर छ । त्यसैको परिणाम नेता नेपाल र उपाध्यक्ष रावललाई गरिएको कारबाही रहेको भन्दै त्यसको बारेमा विज्ञप्तिमा लेखिएको छ, ‘वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल र उपाध्यक्ष कमरेड भीम रावललाई विभिन्न झुठा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने पार्टीको विधानविपरीत स्वेच्छाचारी कार्य भएको छ । यस्तो कार्य पार्टीभित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी नेकपा (एमाले) लाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो ।’

ओलीले पार्टीभित्र अन्तद्वन्द चर्काउन दुराशय राखेको पनि खनाल र नेपाल समूहको बुझाइ छ । सरकार भ्रष्टाचारमा लागेको पनि यो समूहको आरोप छ । पार्टीभित्र विभाजनको पक्षमा लागेको ओलीका कदमको विरोध गर्न खनाल र नेपाल समूहले कार्यकर्ताहरूलाई आग्रह गरेको छ । यसैबीच, पार्टीले सोधेको स्पष्टिकरण नेता सुरेन्द्र पाण्डे र धनश्याम भुषालले पनि मंगलबार बुझाएका छन् ।

प्रकाशित : बुधबार, चैत १८, २०७७०८:५८

ओम्नी घोटाला प्रकरणमा तत्कालीन स्वास्थ्यमन्त्रीलाई कारबाही ?