कामको खोजीमा आउने युवतीहरुलाई पैसाको प्रलोभनमा पारी यौ-न धन्दामा लगाउने दुई महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे नगरपालिका-३ की ३८ वर्षीया उर्मिला नेम्बाङ र इलामको चुलाचुली गाउँपालिका-४ की ३८ वर्षीया बन्ठी भन्ने नन्दिता साँवा लिम्बु छन्।
साथै‚ प्रहरीले घटनास्थलबाट १७ देखी ३९ वर्ष उमेर समूहका आठजना युवतीलाई उद्धार समेत गरेको छ। इलाका प्रहरी दमकका अनुसार दमक नगरपालिका वडा नम्बर ६ स्थित सब्जीमण्डीको घर भाडामा लिएर युवतीहरूलाई ब-न्धक बनाएर अनैतिक क्रियाकलाप चलाइरहेका महिला पक्राउ परेका हुन्।
“ग्राहकसँग सम्पर्क गराएर युवतीहरूलाई पठाउने र यौ-न’जन्य क्रियाकलापमा संलग्न गराएर पैसा लिने गरेको भेटियो,” इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले भने, “युवतीहरूलाई कम पैसा दिएर आफूले बढी पैसा राख्ने गरेको अनुसन्धानबाट खुलेको छ।”
उद्धार गरिएका महिलाहरुसँग अनुसन्धान गर्दा उनीहरुलाई प्रलोभमा पारी आफूहरुलाई यस्ता अनैतिक कार्य गर्न बाध्य गराएको बताएको प्रहरीले जानकारी दिएको छ। उद्धार गरिएका युवती तथा महिलाहरूलाई झापा जिल्ला अदालत भद्रपुरमा पेस गरी आफन्तजनलाई जिम्मा लगाइएको छ।
पक्राउ परेका महिलालाई भने मानव बेचबिखन मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ।

