इटालियन च्याम्पियन युभेन्टसका लागि म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरो पर्फेक्ट हुने क्लब लेजेन्ड फ्रान्को काउजियोले बताएका छन्। युभेका लागि अगुएरो कार्लोस टेभेज जस्तै उत्कृष्ट हुने उनको विश्वास रहेको छ।
केहि दिनअघि मात्र सिटीले आफ्ना स्टार खेलाडी अगुएरोले सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेको हो। सिटीको उक्त घोषनासँगै युरोपका थुप्रै क्लब अर्जेन्टिनी स्ट्राइकरलाई अनुबन्ध गर्ने अभ्यासमा लागेका छन्। बार्सिलोना र युभेन्टस मध्ये एक क्लब उनको अर्को गन्तव्य हुने धेरैले विश्वास गरेका छन्।
यस्तोमा, काउजियोले युभेलाई ३२ वर्षीय सिटी लेजेन्डलाई अनुबन्ध गर्न सुझाब दिएका छन् किनकी उनका अनुसार अगुएरोले ओल्ड लेडीका लागि आफ्ना पूर्व टिममेट टेभेजको जस्तो प्रभाव छाड्न सक्छन्। “उनी युभेन्टसका लागि फिट हुन्छन्। उनले साबित गरे कि उनी धेरै क्लबका लागि उपयोगी हुनसक्छन्, यदि उनी १०० प्रतिशत फिट छन् भने, ” पूर्व युभेन्टस र अर्जेन्टिनी विंगरले गाज्जेटा डेलो स्पोर्टलाई भने।
“अहिलेको समयमा ३२ वर्षको उमेरमा कुनै पनि खेलाडी बुढो हुँदैन। यदि म युभेन्टस भएको भने म उनलाई दुई वर्षीय सम्झौता प्रस्ताव गर्थें किनकि मलाई विश्वास छ कि उनले अझै पनि टिमलाई धेरै दिन सक्छन्। उनी युभेका लागि टेभेज जस्तै हुनासक्छन्,” उनले भने।
यस्तोमा अगुएरो युभेन्टस आएको खण्डमा उनको र रोनाल्डोको जुगलबन्दी कस्तो रहन्छ भन्ने सबैको चासोको विषय बन्न सक्छ। क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला र सर्जियो अगुएरो…. सबै फिट रहेको अवस्थामा यी तीन खेलाडीले बनेको अग्रपङ्क्तिले युरोपको कुनै पनि डिफेन्सलाई ध्वस्त पार्न सक्छ।