कैलाली । धनगढी उपमहानगरपालिका-८ का व्यापारीलाई नक्कली प्रहरी बनेर उनीहरुबाट पैसा माग गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-२ बस्ने २५ वर्षीय पारस मल्ल र सोही उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह रहेका छन् ।
आफूहरु कैलाली जिल्ला प्रहरीबाट सादा पोशाक खटिएका प्रहरी भएको भन्दै स्थानीय व्यापरीहरुसँग पैसाको माग गरेको खबर पाएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले दुई जनालाई व्यापारीसँग लिएको पैसाकै साथमा पक्राउ गरेको हो। उनीहरूलाई स्थानीय व्यापारीबाट नगद ५ हजार माग गरेको अवस्थामा फेला पारी माग गरेको उक्त नगद सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेकालाई हिरसातमा लिएर यस बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।