परिवर्तनको प्रक्रिया उल्ट्याउन खोजियो: अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको सात दशकदेखिको सङ्घर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजिएको बताएका छन् ।

पछिल्ला दिनमा केही मानिसले देखाएको व्यवहार चरम निरङ्कुश भएको टिप्पणी गर्दै उनले परिवर्तनले स्थापित गरेका मूल्य तथा मान्यता उल्ट्याउन भइरहेको प्रयास जनताले परास्त गर्ने उल्लेख गरे ।

प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जलीसभालाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, “नेपाली जनताको सात दशक लामो सङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउन खोजिँदैछ । ”

उनले लोकतन्त्रका मूल्य मान्यता र आन्दोलनका उपलब्धि, शहीदले बगाएको रगतलाई अपमान गर्ने र समाजलाई नकारात्मक दिशातिर लैजाने प्रयास भएको बताए । अध्यक्ष दाहालले गत पुस ५ गते संसद् विघटन गरेर त्यसको सङ्केत दिएको भन्दै आन्दोलनको बलमा संसद् पुनःस्थापना भए पनि खतरा अझै टरिनसकेको स्पष्ट पारे ।

उनले नियम, मूल्य र मान्यताले काम नगर्ने तर सेटिङले काम गर्ने विडम्बनाको सामना गर्नुपरिरहेको भन्दै यस्तो अवस्थामा श्रेष्ठको जीवनबाट शिक्षा लिने बेला भएको बताए ।

प्रतिगमनका विरुद्ध एक भएर जान र आवश्यक परे आन्दोलन गर्न पनि पछि पर्न नहुने उनको भनाइ थियो । स्व श्रेष्ठको व्यक्तित्वको प्रशंसा गर्दै उहाँ स्मरण गरिरहनुपर्ने खालको व्यक्तित्व रहेको बताए । उनले वर्तमान परिस्थितिमा उनको जीवनीबाट निकै शिक्षा लिनुपर्ने धारणा राखे ।

प्रकाशित : शुक्रबार, चैत २०, २०७७१८:२०

चोरीको मोटरसाइकलमा हुँइकिदै थिए, पक्राउ परे !