“मेस्सी जस्तो खेलाडी पृथ्वीमै कोहि छैन, उनी अर्कै ग्रहबाट आएका हुन्”

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पीएसजी)का खेलाडी एन्जेल डि मारियाले लियोनेल मेस्सी अर्कै ग्रहबाट आएको बताएका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा मारियाले अर्जेन्टिनी राष्ट्रिय फुटबल टिम तथा बार्सिलोनाका कप्तान अर्कै ग्रहबाट आएको खेलाडी रहेको बताएका हुन्।

बीइन स्पोर्ट्ससँग कुराकानी गर्दै डि मारियाले मेस्सीको पूरा करियर देख्दा उनी अर्कै ग्रहबाट आएको भान हुने बताए। मेस्सीलाई सहकर्मीको रुपमा पाउनु ठूलो भाग्यको कुरा हो भन्ने डि मारियाको भनाई छ।

डि मारियाले अन्तर्वार्तामा भनेका छन्,”आफ्नो क्यारियरमा मैले जे देखेको छु, त्यसको आधारमा म यो भन्न सक्छुकि लियो अर्कै ग्रहबाट आएका हुन्।…लियोलाई टिममेटको रुपमा पाउनु ठूलो भाग्यको कुरा हो।”

मेस्सीको भविष्य बारे अहिले नै आफूहरुले बोल्न नमिल्ने पनि मारियाले बताएका छन्। बार्सिलोनासँग रहेको मेस्सीको सम्झौता सकिएपछि मात्र मेस्सीको भविष्यका बारेमा छलफल गर्न सकिने उनको भनाई छ। मेस्सी कहाँ खुशी हुन्छन् र उनको परिवारलाई कहाँ सहज हुन्छ भन्ने कुराले महत्व राख्ने पनि उनले बताए।

“उनी बार्सिलोनाका खेलाडी हुन्। उनी एक सम्झौतामा छन्। सम्झौता सकिएपछि हामी हेर्नेछौं। म उनीसँग धेरै कुरा गर्छु र म उनलाई सँधै भन्छु कि महत्त्वपूर्ण कुरा आफ्नो र परिवारको खुशी हो। अरू केही भन्न गाह्रो छ।”,मारिया भन्छन्।

बार्सिलोनासँगको मेस्सीको सम्झौता केहि महिनामै सकिँदै छ। मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता गर्लान्-नगर्लान् भन्ने विषयमा अहिले देखि नै बहस शुरु भइरहेको छ। क्लबका मेस्सीले नै रुचाएका अध्यक्ष निर्वाचित भएको अवस्थालाई जोडेर धेरैले मेस्सी बार्सिलोनामै रहने अनुमान गरिरहेका छन्। तर, मेस्सीले बार्सिलोना नछाड्लान् भन्न सकिने अवस्था नरहेको पनि केहिको भनाई छ।

प्रकाशित : सोमबार, चैत २३, २०७७१०:३४

हालान्डको बार्सिलोनालाई तर्साउने प्रस्ताव, मेस्सी बार्सिलोनामै रहनु पर्ने माग !