“देशमा राजसंस्थाको आवश्यकता देखियो”

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले हालको राज्यव्यवस्था असफल भइसकेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्नेक्रममा लिङ्देनले वर्तमान व्यवस्था असफल भएको भन्दै नयाँ विकल्प खोजिनुपर्ने बताएका हुन्।

वर्तमान शासन प्रणाली नै विफल भएका कारण नयाँ तरिकाले सोच्नु पर्ने समय आइसकेको उनले बताए। मुलुकमा राजसंस्थाको आवश्यकता बढ्दै गएको उनको भनाई छ।

हालको अवस्थामा सरकार परिवर्तन गरेपनि नयाँ निर्वाचन गरेपनि अस्थिरताको अन्त्य गर्न सकिने कुरामा उनले शंका व्यक्त गरे। सरकार परिवर्तन वा नयाँ निर्वाचन जुन बाटो रोजेपनि अस्थिरता, भ्रष्टाचार र वैदेशिक हस्तक्षेपको निरन्तरता बाहेक केहि नहुने उनले दावी गरे।

उनले भने ,”आज जुन अस्थिरताको सामना गरिरहेका छौं । यो प्रणाली असफल भयो। हिलेकै व्यवस्थामा, हामीले सरकार परिवर्तन या नयाँ निर्वाचन जुन बाटो अवलम्बन गरे पनि यो अस्थिरताको अन्त्य गर्न सकिन्छ ? जुन बाटो रोजे पनि यही अस्थिरता र भ्रष्टाचारको निरन्तरता हो । वैदेशिक हस्तक्षेपको निरन्तरता हो । मुलुकले अहिलेको असफलताबाट शिक्षा लिएर नयाँ सम्झौता गर्ने बेला आएको छ ।”

सिके राउत र नेत्रविक्रम चन्दलाई मूलधारको राजनीतिमा ल्याउन सफल भएकोप्रति सरकारलाई धन्यवाद दिँदै ‘राजसंस्था’लाई पनि उपेक्षा गर्न नहुने लिङ्देनले बताए।

“अब राष्ट्रिय एकता कायम गर्ने हो भने यतिले मात्रै पुग्दैन । सिके र विप्लवको मात्रै कुरा होइन । राजस्थालाई पनि स्थान दिए एकता कायम गरौं । सबै राजनीति दलहरूलाई आग्रह गर्न चाहन्छु । देशलाई शान्तिको बाटोमा लैजाने हो भने पाखा लगाइएको शक्तिको रूपमा रहेको राजसंस्थालाई स्थान दिएर जाऔं । कार्यकारीणी प्रधानमन्त्रीको व्यवस्था गरौं । देशलाई नयाँ बाटोबाट लैजाऔं भनेर आग्रह गर्न चाहन्छु ।”,उनले भने।

प्रकाशित : सोमबार, चैत २३, २०७७१५:२८

मनकामना केबुलकार ६ दिन बन्द हुने ! कहिले देखि कहिले सम्म ?