काठमाडौँ – कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु हुने जोखिम बढेसँगै सरकारले काठमाडौं उपत्यकामा थप सतर्कता अपनाउने भएको छ। उपत्यकामा कोरोना संक्रमण फैलिन नदिन सरकारले उपत्यका प्रवेशमा केहि कडाई गर्ने भएको हो।
अब उपत्यका प्रवेश गर्ने सबैको अनिवार्य एन्टीजेन परीक्षण गरिनेछ। काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय कोभिड १९ जिल्ला संकट व्यवस्थापन समितिको बैठकले गरेको हो।
एन्टीजेन परीक्षणका लागि चन्द्रागिरि नगरपालिका र दक्षिणकाली नगरपालिकाले हेल्थ डेस्क राख्ने निर्णय गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ। त्यस्तै साँगा नाकाबाट प्रवेश गर्नेको परीक्षण गर्न भक्तपुर जिल्ला प्रशासनलाई आग्रह गर्ने निर्णय पनि सोमबारको बैठकले गरेको छ।
एन्टिजेन परीक्षणबाट नेगेटिभ देखिएपनि लक्षण देखिएका शंकास्पद व्यक्तिहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने बैठकको निर्णय छ।
एन्टीजेन परीक्षणका लागि स्वास्थ्य कार्यालयबाट सामग्री पाएपछि र स्वास्थ्यकर्मीलाई तालिम दिएपछि प्रक्रिया अगाडी बढ्ने बताइएको छ। उपत्यकामा आइसोलेसन सेन्टर र क्वारेन्टाइन निर्माणका लागि प्रक्रिया बढाउने पनि निर्णय भएको छ।