नेपालमा कोरोनाको दास्रो लहर आउँला ? यसो भन्छन् विज्ञ !

काठमाडौं । सोमबार नेपालमा नयाँ कोरोनाभाइरस संक्रमितको संख्यामा पछिल्लो केही महिनादेखी देखिएको संख्यामा तुलनात्मक रुपमा बढि देखिएको छ । यसअघि हरेक दिन एक सय पचासको हाराहारीमा संक्रमित फेला परिरहेको बेला सोमबार एकै दिन २६६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

यसमध्ये सबैभन्दा बढी काठमाडौँमा ९८, चितवनमा ३७, ललितपुरमा २६ र भक्तपुरमा १३ जना रहेका छन् । काठमाडौं उपत्यकामा मात्रै कुल संक्रमितको साढे पचास प्रतिशत संक्रमित फेला परेका हुन् । भारतमा दैनिक एक लाख संक्रमित फेला परिरहेको अवस्थामा त्यसको असर नेपालमा पनि देखिने आकंलन गरिएको छ । सरकारले पनि जेठ असारमा दोस्रो लहरको पिक अर्थात उत्कर्षमा पुग्ने अनुमान गरेको छ ।

स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले प्रतिनिधि सभामा सोमबार बोल्दै भारतमा पछिल्लो समय बढिरहेको कोरोनाको संक्रमणलाई हेर्दा नेपालमा पनि आउने जेठ र असारमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्ने आकलन गरिएको बताए । ‘कोरोना संक्रमितको संख्या माघको पहिलो सातादेखि निकै कम भइरहेकोमा पछिल्लो समय निकै बढ्दै गइरहेको छ । अबका दिनमा जनस्वास्थयका मापदण्ड पालना प्रभावकारी बनाउन सकिएन भने जेठ – असारमा अर्को उच्च बिन्दुमा पुग्ने देखिन्छ,’ मन्त्री त्रिपाठीले भने ।

त्यसो त भारतबाट नेपाल आएका केही व्यक्तिमा नयाँ प्रकारको भेरिएन्ट समेत देखिएको छ । भारत हुँदै नेपाल प्रवेश गरेका तीनजनामा नयाँ प्रकारको भेरिएन्टको कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको हो । कैलालीको त्रिनगर नाकाबाट नेपाल भित्रिएका डोटी, डडेलधुरा र कञ्चनपुरका एक/एकजनाको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ‘एस जिन’ नेगेटिभ भएकोे पत्ता लागेको हो ।

नेपाल प्रवेश गर्ने २० जनाको स्वाब परीक्षण गर्दा ‘एस जिन’ नेगेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताए । ३ हजार ४७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १४३ जनालाई कोरोना देखिएको उनको भनाइ छ । नेपालमा युके भेरिएन्ट देखिएको झण्डै ३ महिनापछि भारतबाट नेपाल प्रवेश गरेका तीनजनामा युके भेरिएन्ट पत्ता लागेको हो ।

युके भेरिएन्ट पहिलाको तुलनामा तीव्र गतिमा फैलने हुँदा घातक बन्न सक्ने चेतावनी जनस्वास्थ्यविद्ले दिएका छन् । युके भेरिएन्ट औसतमा अघिल्लो कोरोना भाइरसभन्दा ६० प्रतिशत तीव्र गतिमा फैलन सक्ने बेलायतमा गरिएको एक अनुसन्धानले देखाएको छ । छिमेकी राष्ट्र भारतमा दोस्रो लहरमा संक्रमित भएकामध्ये ८० प्रतिशत लक्षणविहीन छन् ।

तर, नेपाल सरकारले १२ वटा नाका हुँदै नेपाल प्रवेश गर्नेलाई ‘स्क्रिनिङ’मात्रै गर्छ । उताबाट आउनेमा कोरोना संक्रमणको लक्षण देखिएको खण्डमा एन्टिजेन विधिबाट परीक्षण गरिन्छ । भारतमा ८० प्रतिशत लक्षणविहीन कोरोना संक्रमित भएकाले नाकामा स्क्रिनिङमात्रै गरेर प्रवेश अनुमति दिँदा नेपालमा भुसको आगोसरी संक्रमण फैलन सक्ने जनस्वास्थ्यविद् तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रक महाशाखाका पूर्वप्रमुख डा.बाबुराम मरासिनीको चेतावनी छ । सीमा नाका हुँदै नेपाल प्रवेश गर्ने सबैलाई अनिवार्य रुपमा पीसीआर परीक्षण गर्नुपर्नेमा डा. मरासिनीले जोड दिए ।

काठमाडौं उपत्यकामा संक्रमित बढ्न थालेपछि प्रवेश गर्नेले अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकाभित्र कोभिडको संक्रमण बढ्न नदिनका लागि हरेक नगरपालिकाले एन्टिजेन परीक्षण गर्ने र नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको बताए ।

जनस्वास्थ्य वैज्ञानिक डा.समीरमणि दीक्षितका अनुसार पिसिआर परीक्षणको तुलनामा एन्टिजेन परीक्षणको विश्वसनियता कम हुन्छ भनेर भन्न नमिल्ने बताए । एन्टीजेन परीक्षणले नेगेटिभ नतिजा देखाएका व्यक्तिलाई अन्य लक्षणहरुको आधारमा चिकित्सकको सल्लाहअनुसार थप पिसिआर गर्नुपर्नेतर्फ पनि उनले ध्यानाकर्षण गराए ।

प्रकाशित : मङ्गलबार, चैत २४, २०७७१०:१०

ठूलो संख्यामा सहसचिवको सरुवा ! को-कहाँ ?