फेरी लकडाउन हुन सक्ने ओलीको सङ्केत !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक भएको खण्डमा लकडाउन गर्न सकिने सङ्केत गरेका छन्।

बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले कोभिड-१९ को संक्रमण बढ्दै गएको खण्डमा लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने सङ्केत गरेका हुन्।

नेपाल चेम्बर अफ कमर्शको ७० औं वार्षिक साधारण सभाको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउनसक्ने बताए ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन जनस्तरबाटै पहलको आवश्यक रहेको ओलीको भनाई छ। सबैले स्वास्थ्य सुरक्षामा विधि अपनाउनुपर्ने ओलीले बताए।

“वाध्य भएर ठप्प पार्ने अवस्था आउँछ। कोरोना भाइरसको जोखिम बढेकाले सावधानी अपनाउनुपर्छ ।”,उनले भने। भारतमा कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिरहेको उल्लेख गर्दै ओलीले लापरवाही गर्न नहुनेमा जोड दिए। ओलीले भने,”सीमा खुल्ला छ भयावह अवस्था हुनसक्छ, त्यसैले सावधानी अपनाउनैपर्छ।”

उनले मास्क लगाउन, हात धुन, घरबाहिर खाना नखान र बेसार पानी खान आग्रह पनि गरे। ओलीले अन्य देशमा जस्तै कोरोनाले नेपालमा धेरै असर पारेको बताए।

ओलीले रोजगारीको अवसर सिर्जना गर्ने र उत्पादन गर्नतिर लाग्नुपर्ने पनि बताए। सकेसम्म नेपालमा आवश्यक हुने सामग्री नेपालमै उत्पादन गर्न तर्फ लाग्नुपर्ने ओलीले जोड दिए।

उनले भने,”हामीले निर्यातमूलक वस्तु उत्पादनमा लाग्याैं भने व्यापार घाटामा कमी आउँछ, यसले हाम्रो मुद्दामा सकारात्मक प्रभाव पार्छ।”

प्रकाशित : बिहिबार, चैत २६, २०७७१४:५५

पटक-पटक सुझाव दिँदा पनि सुध्रिएनन् मासु पसले, पसलमा झिङ्गै-झिङ्गा, फोहोरै-फोहोर !