जसपाले सरकारलाई बुझायो २१० जनाको सूची, सूचीमा ज्यान मुद्दाका अभियुक्त पनि !

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) ले मधेस आन्दोलनका क्रममा २१० जनालाई लगाइएका मुद्दा फिर्ता लिन बिहीबार गृह मन्त्रालयमा पत्र बुझाएको छ। पत्रमा मुद्दा लगाइएका व्यक्तिहरूको नाम राखिएको छ। जसपाका नेता डा.सुरेन्द्र झाले बिहीबार दिउँसो गृह सचिव महेश्वर न्यौपानेलाई मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको सूची बुझाएका हुन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

२४ थान मुद्दामा अभियुक्त बनाइएका २१० जनाको नाम र ठेगानासहितको सूची मन्त्रालयमा बुझाएको डा.झाले बताए। जसपाका अनुसार सूचीमा प्रदेश २ सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माको नाम पनि छ। २०७२ सालको तेस्रो मधेस आन्दोलनका क्रममा जलेश्वरमा थमन विकको ह”’त्या घटनामा शर्मालाई अभियुक्त बनाएर मुद्दा चलाइएको छ। सूचीमा जलेश्वर नगरपालिकाका मेयर शंकर शाहको नाम पनि छ। २१० जनाको सूचीमा रहेका सबै जसपाका नेता–कार्यकर्ता भएको पार्टीले जनाएको छ।

‘पार्टीका कार्यकर्तामाथि विभिन्न अदालतमा दायर गरिएका मुद्दा फिर्ता लिन गृह मन्त्रालयमा नाम बुझाएका छौं’, नेता झाले भने। जसपाले बुझाएको सूचीका आधारमा सरकारले मुद्दा फिर्ता लिने सहमति भएको उनले बताए। झाका अनुसार गृहमा बुझाएको मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको सूचीलाई महान्यायाधिवक्ताको कार्यालय हुँदै कानुन मन्त्रालयमा लगिनेछ। कानुन मन्त्रालयले मुद्दा फिर्ता लिन मन्त्रिपरिषद्मा प्रस्ताव लैजानेछ। मन्त्रिपरिषद्बाट प्रस्ताव अनुमोदन भएपछि मुद्दा फिर्ता लिइनेछ।

यसअघि जसपाले नाम संकलन गर्न गृह मन्त्रालयबाट फाराम लिएर जिल्ला–जिल्लामा पठाएको थियो। जिल्ला–जिल्लामा फाराम भराएर संकलन गरिएका नामको सूची जसपाले गृहमा बुझाएको हो। फाराममा मुद्दा लगाइएका व्यक्ति, मुद्दा दर्ता गरिएको अदालत, हाल मुद्दाको अवस्थालगायत विवरण खुलाइएको छ।

जसपाले सरकारसँग पाँचवटा माग राखेको छ। जसमध्ये मुद्दा फिर्ता लिनुपर्ने मागलाई उसले प्राथमिकता साथ उठाएको छ। यसबाहेक जसपाले थुनामा रहेका पार्टीका सांसद रेशम चौधरीको रिहाइ, नागरिकता विधेयक पास गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेको छ। विभिन्न चरणमा भएका वार्तापछि पार्टीले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया सुरु गरेको नेता झाले बताए।

गृह मन्त्रालयमा मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको नामावली बुझाउनुअघि जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेका थिए। प्रधानमन्त्री ओली र ठाकुरबीच भएको सहमतिका आधारमा गृहमा नाम बुझाएको झाले बताए। जसपाले आफ्ना माग पूरा भएपछि मात्र नयाँ सत्ता समीकरणका बारेमा निर्णय लिने बताउँदै आएको छ। सरकार संकटमा पर्ने अवस्था आएपछि प्रधानमन्त्री ओलीले जसपाको समर्थन लिन विभिन्न चरणमा वार्ता गर्दै आएका छन्।

सरकारले जसपाका माग पूरा गर्न कार्यदल पनि गठन गरेको छ। कार्यदलमा अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई सरकारका तर्फबाट र जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण सदस्य छन। शुक्ल र कर्ण दुवै अध्यक्ष ठाकुरनिकट मानिन्छन्। पछिल्लो समय जसपा अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीसँग निकट देखिएका छन्। जसपाका नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झालगायत नेता ओलीसँग सहकार्य गरेर सत्तामा जानुपर्ने पक्षमा छन्।

प्रकाशित : शुक्रबार, चैत २७, २०७७०७:४९

मुख्यमन्त्री र प्रदेश प्रमुखलाई भै‌‌सेपाटीमा सुविधासम्पन्न घर !