काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न लागेका नेपाली कांग्रेस र माओवादी केन्द्रलाई जनता समाजवादी पार्टी(जसपा)ले तत्काल सत्ता सहकार्य नहुने स्पष्ट पारिदिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्र नयाँ सरकार गठन हुनुपर्ने निर्णयमा पुगेपनि जसपाले आफ्ना मुद्दा ओली नेतृत्वको सरकारले पुरा गर्नेतर्फ अग्रसर रहेकाले विकल्प खोज्ने तयारी नगरेको स्पष्ट पारेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार बसेको बैठकमा कांग्रेस र माओवादीले नयाँ सरकार बनाउनुपर्नेमा जोड दिएका थिए । तर, जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले तत्कालै सरकारको विकल्प खोज्ने विषयमा छलफल नगरेको बताए । कांग्रेसले बैठकमा आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग औपचारिक प्रस्ताव राखेको थियो ।
प्रतिनिधिसभा पुनःस्थापनाको एक महिनापछि पहिलो पटक बसेको तीन दलको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको निर्णय अनुसार सरकार बनाउने प्रस्ताव राखेका हुन् । उनको प्रस्तावमा माओवादीले आफुहरु छलफलका लागि खुल्ला रहेको बताएको थियो । जसपाले भने पार्टीभित्र सरकारका विषयमा छलफल नै नभएकाले अहिले निर्णय दिन नसक्ने बताएको नेताहरुले बताएका छन् ।
जसपाका अध्यक्ष महन्थ ठाकुरले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने औपचारिक प्रस्ताव आएको बताए । उनले कांग्रेसले सरकार बनाउँछ तपाईहरु सहयोग गर्नुहोस् भनेर प्रस्ताव आएको जानकारी दिए । ‘पहिलो पटक सरकार बनाउने प्रस्ताव आएको छ ।
हामीले यसविषयमा कुनै छलफल गरेको छैन’, बैठकपछि उनले भने, ‘हाम्रो मुद्दाको विषय अहिले प्रधानमन्त्री ओलीजीले अगाडी बढाई दिनु भएको छ । त्यसविषयमा जानकारी गराउँदा हामीपनि (देउवा–प्रचण्डले) गर्छौं भन्नु भएको छ ।’ जसपा सरकारको विकल्प खोज्न तयार छ कि अझै पनि निर्णय गर्न बाँकी छ ? भन्ने प्रश्नमा ठाकुरले त्यो विषय बाँकी रहेको जानकारी गराए ।
बैठकमा सहभागी जसपा नेता राजेन्द्र महतोले पनि कांग्रेस नेतृत्वमा तत्काल सरकार बन्न सम्भव नरहेको बताए । ‘ओली सरकारले हाम्रो माग पूरा गर्दैछ । हिजोमात्रै राजनीतिक बन्दी रिहाइको प्रक्रिया सुरु भयो । यसैले हाम्रो माग पूरा गर्छ भने नयाँ सरकार किन बनाउने ?’, महतोले भने । उनका अनुसार कांग्रेस सभापति देउवाले आफ्नो पार्टीको निर्णय सुनाए पनि वैकल्पिक सरकार बन्ने सम्भावना तत्काल छैन ।
जसपाभित्र ओलीलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा दुई लाइन रहेका कारण सरकारका विषयमा निर्णय आउन ढिलाई भईरहेको बताइएको छ । माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ओलीबाट लोकतान्त्रिक चुनाव हुन नसक्ने भएकाले नयाँ सरकार गठनको प्रस्ताव गरेको जानकारी देउवाले बैठकमा राखेको बताए । ‘सामान्यतय जुन सरकार भएपनि साच्चै चुनाव गराउने हो भने त्यत्ति फरक पर्ने स्थिति हुन्थेन होला । केपी ओली चाँही सर्वसत्तावादी भए, उनले राज्यसत्ता कब्जा गर्न खोज्दैछन् ।
पुलिस, सेना, कर्मचारी सारा अंगहरुलाई आफ्नो र आफ्नो व्यक्तिगत कमाण्डमा चलाउन खोज्दैछन्’, देउवाको भनाई उदृत गर्दै श्रेष्ठले पत्रकारहरुसँग भने, ‘यस्तो सर्वसत्तावादी प्रधानमन्त्रीको हातबाट लोकतान्त्रिक चुनाव हुन सक्दैन । त्यो कोणबाट नै सोचेर हामीले नयाँ सरकार बनाउनुपर्छ भनेर भनेका हौं ।’
माओवादीले नयाँ बहुमतको सरकार बन्ने सुनिश्चितता भएपछि मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी बैठकमा गराएको छ । बहुमतको नयाँ सरकार बनोस् भन्नका लागि अहिले समर्थन फिर्ता नलिएको बताउदै प्रवक्ता श्रेष्ठले भने, ‘कदमकथाचित बहुमतको सरकारको सुनिश्चितता भएन, अब नहुने नै भयो भने पनि हामीले यो सरकारप्रति हाम्रो समर्थन रहेको छैन भनेर औपचारिक रुपमा जानकारी दिनुपर्दा दिनेछौं ।’
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने सभापति देउवाले छलफलमा चुनावको विषय उठाएको आफुलाई थाहा नभएको प्रतिक्रिया दिए । उनले कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको प्रस्ताव गरेको बताए । ‘प्रस्तावलाई माओवादीले सकारात्मक रूपमा लिनुका अलवा सुरुवातदेखि नै सकारात्मक छौं भन्ने प्रस्ट धारणा आयो’, शर्माले भने । उनका अनुसार जसपाले भने सरकार निर्माणका विषयमा छलफल गरेर निर्णय दिने बताएको छ ।
जसपाले सरकारका विषयमा पछि निर्णय लिने भनेर आफूहरूका केही मुद्दा रहेको पनि तीन दलको बैठकमा कुरा राखेको थियो । आन्दोलनका क्रममा राज्यले लगाएका कार्यकर्तामाथिका मुद्दा खारेजी र बन्दी रिहाइको माग जसपाले दोहो¥याएको थियो । जवाफमा कांग्रेस र माओवादीका नेताहरूले आफूहरू सकारात्मक रहेको भनेका थिए । तीन दलको बैठकमा जानुअघि जसपाका नेताहरुबीच केही समय छलफल पनि भएको थियो । छलफलले गर्दा उनिहरु बैठकमा ढिलो पुगेका थिए ।
तीन दलको बैठकमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतका नेता तीन दलीय बैठकमा पुगेका थिए । जसपाबाट अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेताहरू सहभागी भएका थिए ।