फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेनमा युवा स्टार किलियन एम्बाप्पेको भविष्यको चर्चाले फेरी नयाँ मोड लिएको छ। केहि समय अघि मात्र एम्बाप्पे र नेइमार दुबैले क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्ने रिपोर्ट आएता पनि अहिले भने एम्बाप्पेले पीएसजीसँग नयाँ सम्झौता हस्ताक्षर नगर्ने भन्ने खबर आउन थालेको छ।
टेलीग्राफ फुटबलको एक रिपोर्टका अनुसार एम्बाप्पे र पीएसजी बीच नयाँ सम्झौताको बारे भएको छलफल टुटेको छ। यस्तोमा एम्बाप्पे क्लबसँग सन् २०२२ उता सम्झौता लम्ब्याउन तयार नभएको बुझिएको छ। २२ वर्षीय विश्वकप विजेता स्ट्राइकर हाल फ्रेन्च क्लबसँग २०२२ सम्म अनुबन्ध रहेका छन्। उनले सिजनको अन्त्यमा क्लब छाड्न चाहेको बताइएको छ। यस्तोमा पीएसजीका लागि ठूलो घाटा हुन सक्छ।
क्लबका अर्का स्टार नेइमारले पनि क्लबसँग नयाँ सम्झौतामा हस्तक्षर गर्न नचाहेको भन्ने रिपोर्ट आइरहेको बेला यो खबर पीएसजीको लागि निकै ठूलो झड्का हुनसक्छ। बार्सिलोनाका कप्तान मेस्सी क्याटालानमै बस्ने बुझेर नेइमारले पनि फ्रेन्च क्लबसँग नयाँ सम्झौता हस्तक्षर गर्ने छलफलमा रोक लगाएका थिए। ब्राजिलियन सुपरस्टारले बार्सिलोनाको बोर्डलाई समेत आफू स्पेन फर्किन चाहेको कुरा बताएको बुझिएको छ।
२२ वर्षकै उमेरमा विश्वकै उत्कृष्ट खेलाडी मध्ये एक खेलाडीको घाटा जति सुकै ठूलो क्लबलाई पनि पक्कै हुनेछ। तर क्लबसँग रहेको सम्झौताको अन्तिम वर्षमा प्रवेश गरिसक्दा पनि फ्रेन्च च्याम्पियनले स्टार फरवार्डलाई १०० मिलियन भन्दा कम रकममा क्लब छाड्न भने दिनेछैन।
युरोपका थुप्रै ठूला क्लबको एम्बाप्पे माथि नजर रहेको छ। रियल म्याड्रिड, बार्सिलोना, लिभरपुल, म्यानचेस्टर सिटी जस्ता ठूला क्लबले एम्बाप्पेलाई अनुबन्ध गर्न चासो देखाएका छन्।
२०१७ मा एएस मोनाकोबाट लोनमा पीएसजी आएका एम्बाप्पेलाई पेरिस क्लबले २०१८ मा पर्मानेन्ट डिलमा साइन गरेको थियो। क्लबका लागि उनले कुल १५९ खेल खलिसकेका छन्, जस अवधिमा उनले ११९ गोल गरेका छन्।