काठमाडौँ – राजधानीका विभिन्न अस्पतालमा कोरोनाका सिकिस्त बिरामी बढ्न थालेका छन्। सिकिस्त बिरामी बढेसँगै कोरोनाको जोखिम झन् बढेको चिकित्सकले औंल्याएका छन्। विवरणअनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १८ जना आइसियुमा भर्ना भएका छन्। भर्ना भएकामध्ये १४ जना निमोनिया भइसकेर अक्सिजन चाहिने अवस्थाका छन्। तीमध्ये ६ जना सिकिस्त छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
त्यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा २२ जना बिरामी भर्ना भएका छन्। उनीहरू सबै अक्सिजन चाहिने अवस्थाका छन्। वीर अस्पतालमा ५ जना कोरोना संक्रमित भर्ना भएका छन। अस्पतालका कोभिड १९ सम्पर्क चिकित्सक डा. अच्युत कार्कीका अनुसार २ जना आइसियुमा छन्। चिकित्सकका अनुसार भर्ना हुनेमा १८ वर्षमुनिका बालबालिका पनि छन्। पहिला वृद्ध उमेरका व्यक्ति कोरोनाबाट सिकिस्त भएर आउने गरेकोमा यसपालि युवा उमेरका पनि सिकिस्त भएर भर्ना भएका छन्।
संक्रमितमध्ये धेरैमा युके नयाँ भेरिएन्ट भाइरस देखिएको छ। ‘कोभिड पोजेटिभ देखिएकाहरूमा स्पाइक प्रोटिन नेगेटिभ देखिएको छ। यो हुनु भनेको पहिलाको कोरोनाको स्वरूपमा परिवर्तन भएको बुझिन्छ’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले भने। अस्पतालमा सिकिस्त बिरामीको संख्या दिनहुँ बढ्दै गएपछि जोखिम बढेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताए। पौडेलका अनुसार संक्रमित भएका बच्चाहरूमा नमुना परीक्षण गर्दा १५ प्रतिशतमा युके भेरिएन्ट देखिएको छ। लक्षण नदेखिएका बालबालिकाबाट परिवारका अन्य सदस्यमा संक्रमण हुने सम्भावना भएकाले यो समूह सुटुक्क संक्रमण सार्ने समूहमा परेको छ।
यसअघि ५० वर्ष माथिकाहरू सिकिस्त हुने गरेकोमा यसपालि ५० प्रतिशत ५० वर्षमुनिका रहेको महाशाखाले जनाएको छ। युवा उमेरकामा संक्रमण बढी देखिनुले युवा जनसंख्यामै जोखिम बढेको महाशाखा प्रमुख पौडेल बताउँछन्। संक्रमणदरमा दैनिक वृद्धि भइरहेको अवस्थामा जोखिमस्थलहरूको व्यवस्थापन नहुनुले थप जोखिम बढेको उनको भनाइ छ।
नेपालमा संक्रमण बढेको दुई सातापछि पनि संक्रमणका जोखिम स्थलहरू सार्वजनिक यातायात, सिनेमा, स्कुल, सभा तथा गोष्ठी, सपिङ मलहरूमा भिड नियन्त्रण नभएकाले झन् जोखिम बढेको डा. पौडेल बताउँछन्। उनका अनुसार जोखिम बढेपछि जोखिम स्थललाई नियन्त्रण गर्न सरकारलाई सुझावसमेत दिइसकेको र केही दिनमै सम्बोधन गर्ने तयारी भइरहेको छ। कोरोनाको जोखिम बढे पनि गत वर्षकै जस्तो लकडाउन गर्न सम्भव नभएको र नयाँ स्वरूपमा व्यवस्थापन गर्न सकिने डा. पौडेल बताउँछन्।