रेफ्रीले मेस्सीलाई भने- “फुटबलको नियम थाहा छैन भने म पछि सिकाउँला है”

एल-क्लासिको खेल चल्दै गर्दा खेलका मुख्य रेफ्री गिल गिल मन्जानो बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई ‘तपाईंलाई फुटबलको नियम पनि थाहा त छ ?’ भनेर प्रश्न उठाएका छन्।

शनिबार राति भएको खेलमा रियल म्याड्रिड २-१ गोल अन्तरले विजयी भयो। रियल म्याड्रिडका लागि करिम बेन्जामा र टोनी क्रुसले गोल गरेका थिए भने बार्सिलोनाका ओस्कार मिन्गेजाले एक गोल गरेका थिए। यो पराजितसँगै बार्सिलोनाको उपाधि यात्राको ठूलो धक्का पुगेको छ।

खेलको अन्तिम समयमा बार्सिलोनाका मार्टिन ब्र्याथवेटलाई रियलका फेर्लान मेन्डीले डी-बक्स भित्र तानेपछि पनि रेफ्रीले बार्सिलोनाको पक्षमा पेनाल्टीको फैसला गरेनन्। उनले भीएआरबाट रिभ्यु समेत नगरी बार्सिलोनाको पेनाल्टीको माग नकारीदिएका थिए। जसपछि खेल रेफ्री र बार्सिलोनाका कप्तान लियोनल मेस्सी बीच बहस भएको बताइएको छ।

स्पोर्ट्स एफएमका अनुसार मेस्सीले रेफ्रीलाई सम्मान देखाएर बोल्न भनेका थिए। जसको उत्तरमा मन्जानो मेस्सीलाई भने,”तपाईंलाई फुटबलको नियम थाहा पनि छ कि छैन ? यदि थाहा छैन भने म पछि बताउँछु।” गिल मन्जानो सोहि रेफ्री हुन् जसले मेस्सीलाई बार्सिलोना करियरको पहिलो र एक मात्र रातो कार्ड देखाएका थिए।

रियल विरुद्धको हारपछि बार्सिलोना लालिगा उपाधि होडमा पछि परेको छ। बार्सिलोना हाल ३० खेलबाट ६५ अंकका साथ तेस्रो स्थानमा रहेको छ। जीत हात पारेको रियल भने ३० खेलबाट ६६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। पहिलो स्थानमा रहेको एथलेटिको म्याड्रिडको भने ६७ अंक रहेको छ।

प्रकाशित : सोमबार, चैत ३०, २०७७१५:३४

घाइते भएका लेवान्डोस्की कुद्न थाले ! पीएसजी विरुद्ध खेल्लान् ? [अपडेट]