काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल सहितका नेताहरुलाई ठेगान लगाउने चेतावनी दिएका छन्।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नेक्रममा ओलीले माधव नेपाल सहितका नेताहरुलाई ठीक पार्ने चेतवानी दिएका हुन्। आफू विरुद्ध जे बोलेपनि सहेर बस्ने तर पार्टीलाई बद्नाम गर्न खोजिए चुप नबस्ने ओलीले चेतावनी दिए।
“सहने एक हदसम्म हुन्छ। मेरा विरुद्ध जे बोले, जे गरे पनि सहन्छु। तर, पार्टीलाई ध्वस्त पार्न खोजे चुप बस्दिन।”,ओलीले भने,”पार्टी माथि धावा बोले ठिक लगाइन्छ।”
माधव नेपाल पक्षले आफू र पार्टी विरुद्ध गरिरहेको क्रियाकलापलाई नजिकबाट नियालिरहेको पनि ओलीले बताए। सीमा नाघेको दिन तह लगाउने ओलीको चेतावनी छ।
ओलीले चेतवानी दिँदै भने,”तपाईहरुलाई मात्र निष्कासन गर्न आउने होइन। हामीलाई पनि निष्कासन गर्न आउँछ भन्ने कुरा सम्झाना राख्नुस्।”
आत्मालोचना गरेर आउन आग्रह
सरकार र पार्टी विरुद्ध गरेका सम्पूर्ण षड्यन्त्रलाई स्वीकार गरी आत्मालोचना गरेर पार्टीमा फर्किन पनि ओलीले माधव नेपाल पक्षलाई सुझाव दिएका छन्।
ओलीले गल्ती स्वीकार गरेर देश र जनतासँग माफी मागेको खण्डमा पुनः स्वागत गरिने बताए। आफूसँग नभई जनता र पार्टीका कार्यकर्तासँग माफी माग्नुपर्ने ओलीको भनाई छ।