एजेन्सी – पेरिस सेन्ट जर्मेन(पीएसजी)का स्टार फरवार्ड नेयमारले किलियन एम्बाप्पेको खुलेर प्रशंसा गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा नेयमारले एम्बाप्पेको खुलेर प्रशंसा गरेका हुन्।
फ्रान्सेली वातावरणमा घुलमिल हुन एम्बाप्पेले नै आफूलाई सिकाएको नेयमारले बताए। एम्बाप्पेकै कारण फ्रान्समा अहिले आफू सहज महशुस गरिरहेको नेयमारको भनाई छ।
“एम्बाप्पेकै कारण फ्रान्सेली जीवन शैलीबारे मैले धेरै कुरा सिक्न पाएँ।”,नेयमारले भने,”मलाई फ्रान्सेली मानसिकताबारे पनि उनैले बुझाएका हुन्।”
फ्रान्समा घुलमिल हुन सक्नु र खुशी सक्नुको पछाडी एम्बाप्पे रहेको नेयमारले बताए। एम्बाप्पे र आफू बीच धेरै राम्रो सम्बन्ध रहेको दावी पनि नेयमारले गरे। उनले भने,”म यहाँको वातावरणमा घुलमिल हुन सक्नुको श्रेय उनलाई जान्छ। र उनैका कारण पनि म खुशी हुन सकेको छु।”
नेयमारको नजरमा एम्बाप्पे विचारशील, विनम्र र दयालु छन्। एम्बाप्पेमा सबैलाई प्रभावित पार्न सक्ने गुण रहेको नेयमारले बताए। नेयमारले एम्बाप्पे क्लबको ‘गोल्डेन ब्वाइ’ रहेको पनि बताए।
“सबै भन्दा पहिको कुरा, म उनको व्यक्तिबाट अत्यन्त प्रभावित भएँ। किलियन अरुको निकै ख्याल राख्ने, सँधै खुशी हुने, विनम्र छन्। उनी निकै राम्रा मान्छे हुन्, त्यसैले पहिलो भेटदेखि नै हामीहरुबीचको सम्बन्ध राम्रोसँग अघि बढिरहेको छ ।”,नेयमारले भने,”मैले उनको प्रशिक्षण, गति, ड्रिबलिङ कला मात्र नभई निरन्तर आफूलाई सुधार्ने नम्रता देख्न पाएको छु। यहि देखेर त म उनलाई गोल्डेन ब्वाइ भन्छु।”