यदि यस्तो नभएको भए नेयमार अहिले रियलमा हुन्थे …

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले नेयमारलाई भित्र्याउन सन् २०१९ मा सक्दो प्रयास गरेको खुलासा भएको छ। फुटबल एजेन्ट वाग्नर रिबेइरोले सन् २०१९ मा नेयमार भित्र्याउन रियलले सक्दो प्रयास गरेको खुलासा गरेका हुन्।

कुनै एक समयमा नेयमारका एजेन्ट रहेका रिबेइरोका अनुसार सन् २०१९ मा नेयमार माथि रियल ३ सय मिलियन युरो खर्च गर्न तयार भएको थियो। तर, पीएसजीका मालिक नासिर अल-खराफीले नेयमारलाई बेच्न अस्विकार गरेका थिए। अल-खराफीले बिलियन युरो पाएपनि नेयमारलाई नबेच्ने बताएको रिबेइरोले बताए।

“त्यसबेला नेयमार रियल म्याड्रिड जाने अन्तिम अवस्थामा थिए। रियल नेयमारका लागि ३ सय मिलियन युरो सम्म तिर्न तयार भएको थियो। तर, नासिर अल-खराफीले मानेनन्। बिलियन डलरको लागि पनि नेयमारलाई नपठाउने नासिरको भनाई थियो।”,एक फ्रेन्च खेल पत्रिकाका लागि अन्तर्वार्ता दिँदै रिबेइरोले भने।

त्यस्तै रिबेइरोले नेयमार पीएसजीमै रहने दावी पनि गरेका छन्। हालको अवस्थामा नेयमारलाई किन्ने अवस्थामा युरोपका कुनै पनि क्लब नरहेको उनले दावी गरे। पीएसजी नै नेयमारका लागि उत्कृष्ट रहने उनले बताए।

“नेयमार पीएसजीमै सन्तुष्ट छन्। पीएसजीले उनलाई जे दिरहेको छ, त्यो अन्य कुनै पनि क्लबले दिन सक्दैनन्। म्याड्रिड आर्थिक समस्याबाट गुज्रिरहेको छ, बार्सिलोनाको हालत झन् खराब छ, इटाली र प्रिमियर लिग क्लबको हालत पनि त्यस्तै छ।”,उनले भने। पीएसजीलाई च्याम्पियन्स लिग जिताएको खण्डमा नेयमारले बालोन डि’ओर जित्ने दावी पनि रिबेइरोले गरे।

प्रकाशित : मङ्गलबार, चैत ३१, २०७७१४:४०

यी हुन् फुटबलमा हरेक पोजिसनका उत्कृष्ट खेलाडी, हालाण्ड र एम्बाप्पे रोनाल्डो भन्दा अगाडी ?