ऋचा गर्भवती: दिवंगत आमाले सन्तान भएपछि थाह पाउँछस् भनेको सम्झिएर भइन् भावुक !

काठमाडौँ – अभिनेत्री ऋचा शर्मा गर्भवती भएकी छन्। नायिका शर्माले सामाजिक संजाल मार्फत आफू गर्भवती भएको जानकारी गराएकी हुन्।  एक स्ट्याटस लेख्दै नायिका शर्माले गर्भवती बन्दा आमाले सन्तान भएपछि थाह पाउँछस् भनेको कुरा स्मरण भएको फेसबुकमा उल्लेख गरेकी छन्।

“आमाले भन्नु हुन्थ्यो – आफ्नो सन्तान भएपछि थाह पाउँछस्। आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड्कनभन्दा कोही अरुको धड्कन मभित्र प्यारो आभाष भइरहेको छ ।”,नायिका शर्माले फेसबुकमा लेखेकी छन्।

गर्भवती हुनुलाई ऋचाले आफू पूर्ण भएको रुपमा लिएकी छन्। एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सौभाग्यको कुरा भएको भन्दै ऋचाले घरको दैलोमा सजीवनको रुख रोपेको पनि सामाजिक संजाल मार्फत नै जानकारी गराएकी छन्।

ऋचा फेसबुकमा लेख्छिन्,”एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो। त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौ।”

साथै ऋचाले सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दै दिवंगत आमालाई पनि स्मरण गरेकी छन्। उनले लेखेकी छन्,”यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठुली भई।'”

प्रकाशित : बुधबार, बैशाख ०१, २०७८०९:३८

यस्तो रह्यो अभिनेत्री प्रियंका कार्कीको नयाँ वर्ष २०७८-[तस्विर सहित]!