बार्यन म्युनिख विरुद्ध समग्रमा जीत निकाल्दै च्याम्पियन्स लिगको सेमी-फाइनलमा प्रवेश गरे लगत्तै पीएसजीका स्टार खेलाडी नेइमारले क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्ने पुष्टि गरेका छन्।
गयराती भएको खेलमा बार्यन म्युनिखले पीएसजी विरुद्ध उसकै घरेलु मैदानमा १-० को जीत निकाल्यो, तर उक्त नतिजा जर्मन च्याम्पियनलाई प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्नको लागि भने पर्याप्त भएन। समग्रमा ३-३ को बराबरी भएपछि अवे गोल नियमको आधारमा फ्रेन्च च्याम्पियन पीएसजी सेमी-फाइनलमा पुगेको हो।
क्लबसँग हालको सम्झौता २०२२ मा सकिने नेइमारले खेल पछि बोल्दै पीएसजीसँग नयाँ अनुबन्धमा हस्ताक्षर समस्याको विषय नभएको बताएका हुन्। हाल आफू पेरिसमा निकै सहज महसुस गर्न थालेको उज्न्ले बताए। खेलपछि इएसपीएन ब्राजिलसँग कुरा गर्दै नेइमारले भने,”क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्न अब कुनै समस्या छैन। मैले यहाँ पेरिसमा सहज महसुस गर्न थालेको छु। म पहिलेको भन्दा खुसी छु।”
नेइमारको नाम पछिल्लो केहि वर्ष देखि नै बार्सिलोनासँग जोडिदै आएको थियो। २०१७ मा रेकर्ड २२२ मिलियनमा बार्सिलोनाबाट पेरिस प्रस्थान बारेका ब्राजिलियन सुपरस्टार नेइमार २०१९ देखि नै बार्सिलोनामा फर्किने बारे चर्चा चल्दै आएको थियो। क्लबका लागि नेइमारले ११६ खेल खेलेका छन्, जसमा उनले ८७ गोल गर्न सफल भएका छन्।