जात्रामय बन्यो भक्तपुर र थिमि, कोरोनाको बाबजुद बिस्का जात्रामा हजारौँको भीड

१ वैशाख – नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न आज विभिन्न जिल्लाबाट सर्वसाधारणको भीड लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्का जात्रा आज बिहानैदेखि शुरु भएको छ । जात्रा हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायतका बिभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ ।

जात्राको चौथो दिन चैत ३१ गते अर्थात् पुरानो वर्षको बिदाइको पूर्वसन्ध्यामा भक्तपुर नगरपालिका–५ योसिङ्खेलमा ५५ हात लामो लिङ्गो ठड्याउने परम्परा भए पनि यसवर्ष आज दिउँसोसम्म पनि लिङ्गो उठाउन सकेको छैन । हिजो साँझदेखि नै हजारौँ स्थानीयको सहभागितामा लिङ्गो उठाउन खोज्दा पनि दिउँसोसम्म लिङ्गो उठाउन सकिएको छैन ।

पचपन्न हात लामो उक्त लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ३१ गते उठाएर १ गते दिनभर जात्रा गरी साँझ ढाल्ने परम्परा रहेको छ । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाश भैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्काको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छ भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविद्हरू बताउछन् ।

चरखण्डीमा रातिदेखि नै भीड ः

आजै सूर्यविनायक नगरपालिका–१ सिरुटार र दधिकोटको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा स्नान गरी महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई गरेको काम सफल हुने जनविश्वास रहेको स्थानीयवासी एवं संस्कृति अनुसन्धानकर्ता रत्न सायमीले बताए ।

किम्बदन्तीअनुसार सिकारीले मारेको भङ्गेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनःजीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने बुढापाकाको भनाइ छ भने यही विश्वासले आज यहाँको कुण्डमा स्नान गर्ने बिहान ४ बजेदेखि नै भीड लागेको छ ।

प्रत्येक वर्ष वैशाख १ गते मनाइने चारखण्डी मेलामा मन्दिर परिसरमा युवाहरुले शरीरमा बत्ती बालेर बसेका छन् । शरीरमा बत्ती बालेर बसेमा पाप नष्ट हुने एवं पुण्य प्राप्त हुने जनविश्वास रहिआएको वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थले जानकारी दिनुभयो । यस मन्दिरमा बिहान ५ बजेदेखि नै तीनवटा खटसहितको खट जात्रासमेत गरिएको छ । दधिकोटको विभिन्न क्षेत्र परिक्रमा गराई बिहानै ल्याइएको खट पुनः मन्दिर परिसरमा राखेर पूजा गर्ने गरिन्छ ।

त्यसैगरी दधिकोटको चित्रपुरस्थित छुमा गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ भने गणेशको खट जात्रासमेत गरिएको छ । दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् । यता सिरुटार, बालकोट र ललितपुरको टीकाथली जोड्ने दोभानस्थित गुप्तेश्वर महादेव मन्दिरमा पनि मेला लागेको छ ।

यता सिरुटार, बालकोटका बासिन्दाले यहाँको गुप्तेश्वर महादेव मन्दिरमा खट यात्रा गरी जात्रा मनाएका छन् । धिमे बाजाका साथ रथलाई टोलटोलमा घुमाएर पूजा गर्दै जात्रा मनाएको स्थानीय भाइकृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : बुधबार, बैशाख ०१, २०७८१५:३५

देशभर ६०३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र २५४ जना संक्रमित भेटिए !