काठमाडौँ – २०७८ को दोस्रो दिन सुनको मूल्य बढेको छ। वर्षको पहिलो दिन कारोबार खुल्ला नभएको सुनको मूल्य बिहिबार बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ८९ हजार ८ सय कायम भएको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि आज ३ सय रुपैंयाँले नै बढेको छ। जसपश्चात तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ५० रुपैंयाँ कायम भएको छ।
चाँदीको मूल्य
बिहिबार चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा ३० रुपैंयाँले बढेको छ। नेपाली बजारमा आज चाँदी १२ सय ९० रुपैंयाँमा कारोबार भइरहेको छ।
२०७७ सालमा सुन
कोरोना भाइरस संक्रमण पश्चात विश्व अर्थ तन्त्रमा परेको असरका कारण सुनको मूल्यमा विश्वभर नै उतारचढाव भयो। यस वर्ष सुन इतिहाँसकै महँगो भयो। सुन कयौं दिन १ लाख भन्दा बढी रकममा बिक्रि भयो।
यस वर्षको साउन २३ गते सुन नेपालको इतिहाँसकै महँगो भयो। त्यस दिन छापावाला सुन १ लाख ३ हजार ५ सय रुपैंयाँमा कारोबार भएको थियो भने तेजाबी सुनको मूल्य १ लाख ३ हजार रुपैंयाँ कायम भएको थियो।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेपछि सुनको मूल्य केहि महिना ठप्प भएको थियो। सुनको कारोबार पुनः खुल्ला भएको पहिलो दिन सुनको मूल्य जेठ २५ हजार ८७ हजार ४ सय कायम भएको थियो। यस वर्ष सुन कम्तीमा ८५ हजार ६ सय देखि १ लाख ३ हजार सम्ममा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।