रुरु जलविद्युतकाे आईपीओ बाँडफाँड शुक्रबार बिहानै, १०० मा ९८ जनाको हात रित्तो हुने !

काठमाडौँ – रुरु जलविद्युत परियोजना लिमिटेडको प्राथमिक शेयर (आइपिओ)को बाँडफाँड शुक्रबार हुने भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आइपिओको बाँडफाँड बिहान साढे ८ बजे हुने भएको हो।

एनएमबी क्यापिटलले चैत २० गतेदेखि २४ गते सम्मका लागि प्रतिकित्ता १२० रुपैयाँको दरमा ४ लाख ७ हजार ७०६ कित्ता कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि, २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।

एनएमबी क्यापिटलका अनुसार रुरुको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ। रुरुको आईपीओका लागि १६ लाख ६९ हजार १९ जनाले कुल २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर माग गरेका छन्।

कतिले पाउँछन् ?

सर्वसाधारणका लागि कम्पनीले ३ लाख ७९ हजार १६७ कित्ता छुट्याएको छ। यो कम्पनीले माग गरेको आवेदन भन्दा ६१.६८ गुणा बढी हो। १० कित्ताको दरले बाँडफाँड गर्दा ३७ हजार ९१६ जनाले १० कित्ता र ७ जनाले थप एक कित्ता अथवा ११ कित्ता शेयर पाउनेछन्।

यस हिसाबले १६ लाख भन्दा बढीले शेयर पाउनेछैनन्। प्रतिशतमा हिसाब गर्दा ९८ प्रतिशत लगानीकर्ताको हात खाली हुनेछ, १०० जनामा २ जनाले मात्रै शेयर पाउनेछन्।

कसरी हेर्ने नतिजा ?

रुरु जलविद्युत परियोजनाको साधारण शेयर (आईपीओ) बाँडफाँडको नतिजा मेराे शेयरले व्यवस्था गरेको नतिजा पोर्टल, कम्पनीकाे वेबसाइट र बिक्री प्रबन्धककाे वेबसाइटमा गएर हेर्न सकिनेछ।

प्रकाशित : बिहिबार, बैशाख ०२, २०७८१८:४९

रुरुको आइपियो बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस् नतिजा !