सुर्खेत । नेकपा एमालेका चार सांसदले आफ्नै पार्टीले ल्याएको अविश्वासको प्रस्तावको विपक्षीमा मतदान गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसले पनि सहयोग गरेको थियो । शुक्रबार भएको मतदानमा शाहीले २२ मत पाएका थिए । माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ जना र नेकपा एमालेका चार सांसदले मतदान गरे । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
उनले विश्वासको मत प्राप्त गरेको सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन् । राप्रपा भने तटस्थ बसेको थियो । नेकपा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेपछि शाहीको पक्षमा कुल २२ मत परेको हो । विपक्षमा १५ मत खसेको थियो । एमालेकै सांसद देवी ओलीले भने विश्वासको मतको पक्षमा दिएको मत सभामुखले निर्धारण गरेको समयमा सच्याएकी थिइन् ।
विश्वासको मतको पक्षमा बहुमत पुगेको थाहा पाएपछि उनले मत सच्याएकी हुन् । प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन वैशाख ३ गतेका लागि आह्वान गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चैत्र ३१ गते नै विश्वासको मत लिन पत्र दर्ता गरेको प्रदेश सभा सचिवालयले जनाएको थियो । विश्वासको मत लिनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालबीच छलफल भएको थियो ।
छलफलमा कांग्रेसको निर्णय हेर्ने र संख्या अपुग भएमा अन्तिम समयमा मतदान गर्ने सहमति बनेको माओवादीका नेताहरुले बताएका छन् ।
माओवादी केन्द्रका सांसद ठम्मर बिस्टले सरकार टिक्ने अवस्था देखिएकोले मुख्यमन्त्रीले विश्वासको मत लिएको बताए । ‘अंकगणितमा टिक्ने कुरा कन्फर्म भएकोले सरकार विश्वासको मत लिन तयार भएको हो’, उनको भनाई छ ।
एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही संकटमा परेका थिए । एमालेको समर्थन फिर्तापछि मुख्यमन्त्रीले राजीनामा दिने कतिपयको अनुमान थियो । एमालेको नेपाल खनाल पक्षले ‘फ्लोर क्रस’ गरेपछि मुख्यमन्त्रीको पद जोगिएको छ । शाहीको पद जोगिएपनि एमालेभित्र भने नयाँ तरंग सिर्जना भएको छ । संसदीय दलको ह्वीप उलंघन गर्ने चार सांसदलाई एमालेले कारबाही गरेको छ । दुई पूर्वमन्त्री प्रकाश ज्वाला र नन्दसिंह बूढा तथा अम्मरबहादुर थापा र सचेतक कुर्मराज शाहीलाई कारबाही गर्ने निर्णय गरेको हो ।
उनीहरूलाई साधारण सदस्यसमेत नहरनेगरी कारबाही गर्न पार्टी प्रदेश र केन्द्रीय कमिटी समक्ष सिफारिस गरिएको प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए । मुख्यमन्त्री शाहीको प्रस्तावको पक्षमा मत हाल्न फ्लोरमा जाने देवी ओलीलाई भने चित्तबुझ्दो जवाफ दिन भनिएको छ ।
कर्णाली प्रदेशसभामा देखिएको भाडँभैलोपछि केन्द्र समेत तरंगीत बनेको छ । केन्द्रले यसलाई क्षम्य नहुने र कारवाही गर्ने बताएको छ ।
तर, यसले गर्दा अन्य प्रदेश र केन्द्रमै विग्रह उत्पन्न हुने परिस्थिति बनेको कतिपयको विश्लेषण छ । एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले फ्लोर क्रसलाई पार्टीमा देखिएको गम्भीर विचलन भनेका छन् । उनले ह्वीप नमानेर फ्लोर क्रस गर्ने निर्णय क्षम्य नहुने बताए । ‘यो गम्भीर विचलनको विषय हो, क्षम्य हुन सक्दैन’, ज्ञवालीले भने । फ्लोर क्रस गर्नेहरुलाई कारबाही हुने पनि उनले स्पष्ट पारे ।
एमाले प्रदेससभा संसदीय दलका नेता यमलाल कडेलले राजनीतिक अपराध गरेको बताए । उनले राजनीतिक निर्णय गरेर माओवादी केन्द्रलाई मत हालेको भए कुनै आपत्ति हुने थिएन भन्दै एमालेमै बसेर गरेको अपराधको रुपमा लिएको प्रतिक्रिया दिए । ‘प्रकाश ज्वाला राजनीतिक इतिहास बोकेको साथी भइसकेकाले उनले गर्ने थिएनन् ।
अरुले गर्ने कुरा हुन्थ्यो । उहाँहरूको राजनीतिक अपराधका रूपमा लिन्छु’, उनले अगाडी भने, ‘दल छोड्न सक्छ, राजनीतिक निर्णय गर्न सक्छ, त्यो गरेको भए कुनै आपत्ति थिएन । यो त उहाँहरूले राजनीतिक अपराध गरेर कुनै राजनीतिक भविष्य नदेखेर तत्कालिक फाइदाका लागि त्यस्तो गरेको हो भन्ने लाग्छ ।’
‘केन्द्रकै निर्देशनमा फ्लोर क्रस’
कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने नेकपा एमालेका सांसदले पार्टीका केन्द्रीय नेताको निर्देशनमा फ्लोर क्रस गरेको बताएका छन् । उनिहरुले नेता माधवकुमार नेपालको निर्देशनअनुसार नै आफुहरुले फ्लोर क्रस गरेको बताएका हुन् । फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वालाले केन्द्रीय नेतृत्वको निर्देशनमै फ्लोर क्रस गरेको प्रतिक्रिया दिए ।
‘केन्द्रीय नेतृत्वको निर्देशनअनुसार नै फ्लोर क्रस गरेका हौं,’ उनले भने, ‘पार्टीले जे कारबाही गरेपनि हामीलाई आपत्ति छैन, यस्तो बेला कारवाहीको पनि के अर्थ भयो र ?’ सांसद ज्वालाले पार्टी कब्जा गर्ने र एकलौटी गर्ने प्रवृत्ति पराजित हुनुपर्छ भन्ने सन्देश दिन फ्लोर क्रस गरिएको पनि बताए । ‘पार्टीलाई एकतावद्ध नगरी सुखै छैन भन्ने सन्देश दिन यो टुंगोमा आइपुगेका हौं । पार्टीभित्र सबैको योगदान छ, सबैको सम्मान हुनुपर्छ’, उनले भने ।
पार्टी एकतावद्ध नबनाएसम्म यस्तो समस्या अरु ठाउँमा पनि देखिने बताए । ‘एमालेभित्र जुन प्रवृत्ति हुर्किरहेको छ । त्यसैको परिणाम हो, यो’, उनले भने । सांसद ज्वालाले अगाडि भने, ‘अदालतको फैसलापछि यो पार्टीलाई सुदृढ गर्न चाहन्थ्यौं । त्यसका लागि अनेकौं प्रयत्न गरियो । तर, जुन ढंगले बेवास्ता र कारवाही गरियो । अनेक किसिमले जबर्जस्त कब्जा र एकलौटी चलाउने काम भए ।’