काठमाडौँ – नेकपा एमालेका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले माओवादी नभएपनि देश चल्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बसेपश्चात ज्ञवालीले माओवादी नभएपनि देश चल्ने बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका तर्फबाट कुनै पनि पनि नेता सहभागी नभएको विषयमा टिप्पणी गर्दै माओवादी केन्द्र नभएपनि देश चल्ने बताए।
माओवादी केन्द्रलाई बैठक बारे जानकारी नगराएको भन्ने कुरा गलत रहेको ज्ञवालीले बताए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले शुक्रबार फोन गरेरै बैठक बारे जानकारी गराएको ज्ञवालीको भनाई छ।
उनले भने,”माओवादी केन्द्रलाई खबर नभएको भन्ने कुरा गलत हो, हिजो नै प्रचण्डले एक कार्यक्रममा हुँदा आफूलाई प्रधामनन्त्रीले फोन गरेको बताउनुभएको थियो । किन आउनुभएन ? उहाँहरूले जान्ने कुरा हो, गैरजिम्मेवार कुरा हो। उहाँहरूले थाहा पाउनुपर्छ, उहाँहरू नहुँदा पनि देश चल्छ ।”
शुक्रबार प्रचण्ड आफैंले प्रधानमन्त्री ओलीको फोन आएको बताएका थिए। यसका बाबजुत उनी सर्वदलीय बैठकमा सहभागी भएनन्। शनिबारको बैठकमा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि सहभागी भएनन्। नेपाली कांग्रेस, जसपा, नेमकिपा तथा राप्रपाका नेताह भने बैठकमा सहभागी भए।
बैठकमा एमसीसी अनुमोदन, उपनिर्वाचन, कोभिडबाट उत्पन्न समस्या लगायतका विषयमा छलफल भएको मन्त्री ज्ञवालीले जानकारी दिए।