“मेस्सी कम्जोर हुँदैछन् भन्नु बेकार, उनी बार्सिलोनामै बस्छन्”

एजेन्सी – स्पेनिस फुटबल क्लबका पूर्व सदस्य गाइजका मेन्डिएटाले लियोनेल मेस्सी बार्सिलोनामै रहने सम्भावना रहेको बताएका छन्। एक अन्तराष्ट्रिय खेल मिडियासँग कुराकानी गर्नेक्रममा मेन्डिएटाले मेस्सी बार्सिलोनामै रहने बताएका हुन्।

बार्सिलोनाको सम्झौता नसकिएसम्म मेस्सीले आफ्नो भविश्व बारे कुनै पनि निर्णय नगर्ने र सम्झौता सकिएपनि पुनः अर्को सम्झौता गर्ने सम्भावना आफूले देखेको मेन्डिएटाले बताए।

हाल मेस्सीले बार्सिलोना शक्तिशाली होस् भन्ने चाहेको र ठूला ट्रफी हात पारोस् भन्ने चाहना राखेको उनको भनाई छ। बार्सिलोना बलियो हुँदै गएको खण्डमा मेस्सी कतै नजाने दावी उनले गरे।

“एक खेलाडीको रुपमा म भन्न सक्छु मेस्सीलाई केहि चाहिएको छ। मेस्सी प्रतिस्पर्धी हुन चाहन्छन्, ट्रफी जित्न चाहन्छन्। यो सबै खेलाडीले चाहने कुरा हो।”,मेन्डिएटाले भने,”अवश्य पनि, सम्झौताको पक्ष र पारिवारिक परिस्थिति महत्त्वपूर्ण भएपनि खेलाडीको रुपमा मेस्सीलाई अहिले ट्रफी चाहिएको छ। क्लब बलियो हुँदै गएको खण्डमा मेस्सी बार्सिलोनामै रहन्छन्। यसमा कुनै दुविधा छैन।”

विश्वका धेरै फुटबलप्रेमिहरुले मेस्सीलाई अन्यत्र खेलेको पनि हेर्न चाहेको भएपनि लालिगा र बार्सिलोना मन पराउनेहरुले उनी बार्सिलोनामै रहुन् भन्ने चाहेको मेन्डिएटाले स्पष्ट पारे। त्यति मात्र नभई उनले मेस्सीको स्तर कम नभएको दावी पनि गरे। उनका अनुसार वर्तमान समयमा मेस्सीको स्तर अलिकति पनि कम भएको छैन।

उनले भने,”उनको प्रदर्शन केहि फिक्का देखिएपनि उनको लय गुमेको छैन। लगातार १५ वर्ष देखि उत्कृष्ट प्रदर्शन गरिरहेका उनको लयमा प्रश्न गर्ने बेला भएको छैन। र, यो कुरा बार्सिलोना समर्थकले मात्र नभई विश्वका सम्पूर्ण खेलाडीले मान्नुपर्छ कि उनी फुटबलको इतिहासकै सर्वश्रेष्ठ खेलाडी मध्ये एक हुन्।”

प्रकाशित : शनिबार, बैशाख ०४, २०७८१४:५०

आसिफ शेख र कुशल भुर्तेलको उत्कृष्ट अर्धशतकीय इनिङ, नेपालको सानदार जित !