काठमाडौँ – नेकपा एमालेका निलम्वित नेता भीम रावलले पार्टी फुट्न सक्ने बताएका छन्। शनिबार धनगढीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा रावलले नेकपा एमाले फुट्न सक्ने बताएका हुन्।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै रावलले पार्टी विभाजन रोक्न आफूहरुले प्रयास गरिरहेको भएपनि पार्टी विभाजन हुन सक्ने बताए।
पार्टी आफूहरुले भन्दा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले फुटाउन खोजेका आरोप नेता रावलले लगाए। उनले भने,”पाटी विभाजन गर्न हामीले खोजेको होइन, केपी ओलीले खोजिरहनुभएको छ।”
पार्टी फुट्न सक्ने हुँदै तयार रहन नेपाल उत्पीडित जातीय मुक्ति समाजको भेलामा सहभागीहरुलाई नेता रावलले आग्रह गरे। बाध्य भएर कुनै पनि कदम चाल्नु पर्ने अवस्था आउन सक्ने उनको भनाई छ।
नेता रावलले भने,”हामी पार्टी विभाजनलाई रोक्नका लागि झण्डा उठाइरहेका छौं। तर, भोलि निर्वाचनमा जाने कामका लागि पार्टीको कुनै एउटा स्थिति आइपुग्यो भने हामीले जुनसुकै कदम पनि चाल्नुपर्छ। त्यसका लागि तयार भइरहनुहोला।”