दुई वर्ष पछि बार्सिलोनाले जित्यो ट्रफी, बार्सिलोना समर्थकले भने – ‘राजा फर्किए’

एजेन्सी – बार्सिलोनाले दुई वर्ष देखिको ट्रफी खडेरी तोड्न सफल भएको छ। गएको लगभग दुई वर्ष देखि कुनै पनि ट्रफी जित्न असमर्थ बार्सिलोना शनिबार राति कोपा डेल रेको च्याम्पियन बन्न सफल भएको हो।

ला लिगा प्रतिद्धन्द्धी एथलेटिको बिल्वाओमाथि ४–० को सानदार जित निकाल्दै बार्सिलोना कोपा डेल रे च्याम्पियन बन्दा सिजनको पहिलो उपाधि जित्न सफल भयो। सन् २०१८-१९ को सिजन पश्चात बार्सिलोनाले जितेको यो पहिलो ट्रफी हो।

बार्सिलोनालाई जिताउने क्रममा कप्तान लियोनेल मेस्सीले दुई तथा एन्टोइन ग्रिजमन र फ्रान्की डियो योङले समान १–१ गोल गरे। सम्पूर्ण गोल दोस्रो हाफमा १२ मिनेटको दौरानमा भएका थिए।

६०औं मिनेटमा एन्टोइन ग्रिजमनले फ्रान्की डि योङको पासमा गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए भने ६३औं मिनेटमा फ्रान्की डि योङले जोर्डी अल्वाको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

त्यस्तै ६८औं मिनेटमा कप्तान लियोनेल मेस्सीले फ्रान्की डि योङको पासमा गोल गरे। अर्को चार मिनेटपछि ७२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बार्सिलोनालाई शानदार जित दिलाए।

कोपा डेल रेको ट्रफी सबै भन्दा धेरै क्लबको रुपमा रहेको बार्सिलोनाले कोपा डेल रे ट्रफी संख्या ३१ पुर्याएको छ। बार्सिलोनाले सिजनको पहिलो ट्रफी हात पारेसँग मेस्सीले पुनः आफू कोपा डेल रेको राजा हुँ भनेर पुष्टि गरेको बार्सिलोनाका समर्थक टिप्पणी गरिरहेका छन्।

गत हप्ता ‘एल क्लासिकोमा पराजित भएको बार्सिलोनाले उक्त हारलाई भुलाउने खेल प्रदर्शन गरेको टिप्पणी यतिबेला भैरहेको छ। पछिल्लो समय लय समातेका मेस्सीले एक पटक पुनः आफू कम्जोर भएको छैन भन्ने प्रमाणित गरेका छन्। मेस्सीको उत्कृष्ट प्रदर्शनलाई लिएर यति बेला बार्सिलोनाका समर्थकहरु राजाको पुनः आगमन भएको टिप्पणी गरिएका छन्।

प्रकाशित : आइतबार, बैशाख ०५, २०७८१०:०१

मेस्सीको कीर्तिमानी गोल, बार्सिलोनाको शानदार जीत !