बार्सिलोनाका कप्तान लियोनल मेस्सीले टेल्मो जाराको नाममा रहेको रेकर्ड तोड्दै कोपा डेल रे फाइनलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। गयराती भएको फाइनल खेलमा दुई गोन गर्न सफल भएका मेस्सीले अहिलेसम्म प्रतियोगिताको फाइनलमा १० गोल गरेका छन्। उनको नाममा ६ वटा उपाधि पनि रहेको छ।
एथलेटिक बिलबाओलाई ४-० ले पराजित गर्दै बार्सिलोनाले सिजनको पहिलो उपाधि जित्न सफल भयो। बार्सिलोनाका लागि मेस्सीले दुई गोल गर्नुका साथै एन्टोइन ग्रिज्मन र फ्रान्की डी जोंगले एक-एक गोल गरेका थिए। उपाधि जितिसकेपछि मेस्सीले बार्सा टिभीसँग भने,”आज निकै खुसीको दिन हो। आफूले सधैं खेलिरहेको क्लबको कप्तान हुन पाउनु निकै विशेष हो। यो उपाधि पनि निकै विशेष रहेको छ।”
मेस्सीले आफ्नो क्लबले अन्तिम खेलसम्म पनि लालिगा उपाधिका लागि लड्ने पनि बताए। उनले बार्सिलोनाले युवा खेलाडीका साथ पनि निकै प्रगति गर्दै गएको र लालिगा उपाधि होडमा रहेको बताए। त्यस्तै, क्लबमा मेस्सीको भविष्यको बारेमा बोल्दै मुख्य प्रशिक्षक रोनाल्ड कोमनले क्लब कप्तानलाई आफूले अर्को सिजन पनि बार्सा मै देख्न चाहेको आशा व्यक्त गरे।
“मेस्सी एक विजेता हो। हामीले सबै खेलाडीको बारेमा कुरा गर्नु पर्छ किनभने सबैले उपाधि जितेका हुन्। तर एक पातक फेरी मेस्सीले फरक पारे। हामी सबै मेस्सी बार्सामा बसेको हेर्न चाहन्छौं,” कोमनले भने।
मेस्सीले हिजोको गोलसँगै कोपा डेल रे रेकर्ड तोड्नुका साथै लगातार १३ वर्ष ३० भन्दा धेरै गोल गर्न सफल भएका छन्। कोपा डेल रे उपाधि उचालेको बार्सिलोना लालिगा टेबलमा भने तेस्रो स्थानमा रहेको छ। निकै रोमान्चक बन्दै गएको उपाधि होडमा एथलेटिको म्याड्रिड ६७ अंकका साथ पहिलो स्थानमा रहेको छ। भने रियल म्याड्रिड ६६ अंकका साथ दोस्रो स्थानमा छ। बार्सिलोनाको ६५ अंक छ।