अर्जेन्टिनी दिग्गज लियोनल मेस्सीको दुई गोलको मद्दतमा बार्सिलोनाले एथलेटिक बिलबाओलाई पराजित गर्दै कोपा डेल रे उपाधि जित्न सफल भएको छ। उक्त गोलसँगै मेस्सी कोपा डेल रे प्रतियोगिताको फाइनलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्।
गयराति बार्सिलोनासँग जितेको कोपा डेल रे उपाधि मेस्सीको खेल जीवनको ३७ औं उपाधि थियो। जससँगै उनी फुटबल इतिहासमा सबैभन्दा बढी उपाधि जित्ने खेलाडीको सूचीको दोस्रो स्थानमा उक्लिन सफल भएका छन्।
मेस्सी अहिलेसम्म जितेको अविश्वसनीय ३७ ट्रफीमा सबै बार्सिलोनासँग जितेका हुन्। अर्जेन्टिनी राष्ट्रिय टोलीको लागि भने उनले अहिलेसम्म कुनै उपाधि जित्न सफल भएका छैनन्।
फुटबल इतिहासमा सबैभन्दा धेरै उपाधि जित्ने टप १० खेलाडी
९= जाभी (३३ उपाधि)
९= क्रिस्टियानो रोनाल्डो (३३ उपाधि)
८. भिटोर बाइया (३४ उपाधि)
६= जेरार्ड पिके (३५ उपाधि)
६= केन्नी डालग्लिस (३५ उपाधि)
५. रायन गिग्स (३६ उपाधि)
२= लियोनल मेस्सी (३७ उपाधि)
२= म्याक्सवेल (३७ उपाधि)
२= आन्द्रेज इनिएस्टा (३७ उपाधि)
१. डानी आल्भेज (४२ उपाधि)
ब्राजिलियन राइट ब्याकले सबैभन्दा धेरै ४२ उपाधि जितेका छन्। पूर्व बार्सिलोनाका खेलाडी द्वय म्याक्सवेल र आन्द्रेज इनिएस्टाको बराबरी गर्न सफल भएका मेस्सीको नजर अब पहिलो स्थानमा रहनेछ। ३३ वर्षको उमेरमा पनि आफ्नो खेल स्तर घट्न नदिएका मेस्सीले भविष्यमा ६ उपाधि जित्न सम्भव देखिन्छ।