काठमाडौँ- रामबहादुर थापा ‘बादल’ लाई आइतबार राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएसँगै १३ जना सांसदको पदपूर्ति उपनिर्वाचनबाट गर्नुपर्ने भएको छ ।यसअघि संघ र प्रदेश गरी १२ स्थानमा सांसद पद रिक्त भइसकेको छ । यसै क्रममा थापालाई राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएको हो । थापाको ठाउँमा ३५ दिनभित्रै उपनिर्वाचन गर्नुपर्ने कानुनी बाध्यता रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन–२०७५ अनुसार कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायमै रहेको अवस्थामा कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने उल्लेख छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा माओवादी केन्द्रको पत्रअनुसार आइतबार बादलको सांसद पद रिक्त गर्नुभएको थियो ।सांसद पदसँगै ‘बादल’ को गृहमन्त्री पद पनि स्वतः रिक्त भएको छ । तर सरकारले उहाँलाई पुनः गृहमन्त्रीमा नियुक्ति गरेको छ । ‘बादल’ नेकपा माओवादी केन्द्रबाट ०७४ को निर्वाचनमा बागमती प्रदेशबाट सदस्य निर्वाचित हुनुभएको थियो ।
त्यस्तै, रिक्त १२ स्थानमा उपनिर्वाचन गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । ती स्थानमा यसअघि माओवादी केन्द्रले जितेको थियो । चार जना प्रतिनिधिसभा सदस्य र आठ जना प्रदेशसभाबाट जितेकाहरू माओवादी सांसदहरु एमालेतर्फ लागेपछि माओवादीले कारबाही गर्दा ती स्थान रिक्त बन्न पुगेको हो ।रिक्त रहेका प्रतिनिधिसभाका चार स्थानमा कैलाली क्षेत्र नम्बर ३, ४ रौतहट क्षेत्र नं ३ र अर्घाखाँची क्षेत्र नं १ रहेका छन् । यी चारवटै स्थान रिक्त भएको पत्र सरकारले आयोगमा पठाइसकेको छ।कैलाली क्षेत्र नं ३ मा यसअघि माओवादीबाट गौरीशंकर चौधरी निर्वाचित हुनुभएको थियो । सोही जिल्ला क्षेत्र नं ४ बाट माओवादीकै लेखराज भट्ट निर्वाचित हुनुभएको थियो । त्यस्तै, रौतहट क्षेत्र नं ३ मा प्रभु शाह, अर्घाखाँची क्षेत्र नं १ माओवादी सांसद टोपबहादुर रायमाझीलाई पदमुक्त गरिएपछि रिक्त भएको छ ।
गत फागुन २३ को सर्वोच्च अदालतले एकीकरण गर्नुअघिको माओवादी (केन्द्र) र एमाले ब्युँताउने फैसलापछि सांसद चौधरी, भट्ट, रायमाझी र साह माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीको कारबाहीमा परेको थियो ।
प्रदेशसभातर्फ पनि माओवादी छाडेर एमालेमा प्रवेश गरेका ८ जनाको स्थानमा उपनिर्वाचन गर्नुपर्ने भएको छ । त्यसमा प्रदेश–१ का टंक आङ्बुहाङ, लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीका साथै कर्णाली प्रदेशका धर्मराज रेग्मी रहनुभएको छ ।त्यसै गरी, प्रदेश–२ मा नेकपा माओवादी केन्द्रले चार जना प्रदेशसभा सदस्य रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई माओवादी केन्द्रले कारबाही गरेपछि ती स्थान रिक्त बनेको हो । मण्डल धनुषा क्षेत्र नम्बर १ को (ख), कुशवाहा रौतहट क्षेत्र नम्बर ३ को (ख), ज्वालाकुमारी साह बारा क्षेत्र नम्बर ३ को (क) बाट निर्वाचित सांसद हुनुहुन्छ भने मोहम्मद समीर बाराबाटै समानुपातिक सांसद हुनुहुन्थ्यो । पार्टीले सोधेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको भन्दै सांसदहरुलाई कारबाही गरेपछि ती स्थान रिक्त भएको हो ।

