आइतबार फुटबल जगतमा एउटा खबर आयो। प्रिमियर लिगका ठूला ६ क्लबका साथै युरोपमा १२ क्लबले युरोपियन सुपर लिग प्रतियोगिताको घोषणा गरेका छन्। यसले सबै फुटबल प्रशंसकलाई चिन्तित तुल्याएको छ।
नवगठित यूरोपीयन सुपर लिगको औपचारिक बयानमा यस्तो लेखिएको छ: “युरोपका बाह्र अग्रणी फुटबल क्लबहरू आज यो घोषणा गर्न भेला भएका छन् कि उनीहरू नयाँ मध्य-हप्ताको प्रतिस्पर्धा, सुपर लिगको स्थापना गर्न सहमत भएका छन्, जुन यसको संस्थापक क्लबहरू द्वारा आयोजित हुनेछ।”
“एसी मिलान, आर्सनल, एथलेटिको म्याड्रिड, चेल्सी, बार्सिलोना, इन्टर मिलान, युभेन्टस, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र टोटनह्याम हट्सपर संस्थापक क्लबको रूपमा सम्मिलित भएका छन्। यसका साथै थप ३ क्लब प्रतियोगिताको पहिलो संस्करणमा सामेल हुनेछन्।
युइएफएको प्रमुख प्रतियोगिता च्याम्पियन्स लिगसँग टक्कर हुने यो प्रतियोगिताको घोषणा लगत्तै युइएफएको परिचालक निकायले यस प्रतियोगितामा सहभागिता जनाउने खेलाडीले कुनै प्रकारको युइएफए र फिफाको प्रतियोगिता खेल्न प्रतिबन्ध लगाउने तयारी गरेको बताइएको छ।
यस्तोमा फुटबलका फ्यान्सले अहिलेको समयमा पैसाले फुटबलको मज्जा र रोमान्च लुटेको बताउने थालेका छन्। पैसाको कारण फुटबलले आफ्नो सुन्दरता गुमाउने स्थितिमा रहेको प्रष्ट देख्न सकिन्छ।