टोटनह्यामका प्रशिक्षक ‘स्पेसल वान’ पदबाट वर्खास्त !

टोटनह्याम हट्सपरका मुख्य प्रशिक्षक जोसे मौरिन्हो वर्खास्त भएका छन्। क्लबको प्रशिक्षकको पदमा नियुक्त भएको १७ महिनापछि पोर्चुगिज वर्खास्त भएका हुन्। पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनो वर्खास्त भएपछि नोभेम्बर २०१९ मा उक्त पदमा जोसे नियुक्त भएका थिए।

उनको प्रशिक्षणमा लण्डन क्लब पछिल्लो सत्र प्रिमियर लिग टेबलमा छैठौं स्थानमा समाप्ति गरेको थियो। यस सिजनको सुरुवात निकै उत्कृष्ट शैलीमा गरेको टोटनह्याम हाल लिगको सातौँ स्थानमा रहेको छ। क्लबले पछिल्लो ३ खेलमा २ अंक मात्र बटुल्न सफल भएको थियो। साथै मौरिन्हो कै प्रशिक्षणमा हुँदा क्लब युरोपा लिगबाट पनि बाहिरीसकेको छ।

मौरिन्होका साथै उनका कोचिंग स्टाफ जोआओ स्याक्रमेन्टो, नुनो सान्तोस, कार्लोस ललिन र जियोभन्नी सेरालाई पनि बर्खास्त गरिएको छ। “जोसे र उनका कोचिंग स्टाफ हाम्रो सबैभन्दा चुनौतीपूर्ण समयहरूमा हामीसँग थिए,” टोटेनहमका अध्यक्ष डानियल लेभिले भने,”जोसे एक सच्चा प्रोफेशनल हुन् र उनले यो महामारीको समयमा पनि निकै राम्रोसँग काम गरे।”

जोसेले आफ्नो प्रशिक्षण करियरमा यो सिजन पहिलो पटक १० लिग हार बेहोरेका थिए। विजयी अवस्थामा रहेको स्थितिबाट टोटनह्यामले यो सिजन २० अंक गुमायो, जुन प्रिमियर लिगमा सबैभन्दा धेरै हो। क्लबको एकेडेमीमा कार्यरत पूर्व स्पर्स मिडफिल्डर र्यान मेसनले सोमबार पहिलो टिमको प्रशिक्षण लिनेछन्।

प्रकाशित : सोमबार, बैशाख ०६, २०७८१६:२३

युरोपियन सुपर लिग: के पैसाले बिगार्दै छ फुटबलको रोमान्च र मज्जा ?