काठमाडौं । बागबजारमा रहेको ज्योतिद्विप नामक एजुकेसन कन्सल्टेन्सीबाट एसएलसीको सर्टिफिकेटमा नम्बर सच्याएर बंगलादेश पढ्न पुगेका चार जना डाक्टर पढेर फर्किए । डाक्टर पढेरमात्र होइन्, उनिहरुले नेपालमा डाक्टर सेवा गर्न लिनुपर्ने नेपाल मेडिकल काउन्सिलबाट चिकित्सा पेशाको प्रमाण–पत्र पनि लिसकेका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
प्रमाणपत्र लिएका सप्तरी विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय मोहमद सिद्दिक, महोत्तरी सरपल्लो–६ का २९ वर्षीय सुभाषप्रसाद साह, धनुषा सवैला नगरपालिका–५ का २८ वर्षीय मोहम्मद शाहिद राजा र मनाङ साविक चामे गाविस–५ का ३१ वर्षीय दिपेन्द्र गौतम आइतवार पक्राउ परे ।
उनिहरुसँगै विभिन्न भागबाट सप्तरी सकरपुरा–१ का ३१ वर्षीय अखिलेश कुमार देव, महोत्तरी मनरा–५ की २७ वर्षीया पल्लवी सिंह र ललितपुर महानगरपालिका–२ सानेपा बस्ने २९ वर्षीय फराज हुसेन खाँलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । सिद्धिक विराटनगरस्थित न्युरो अस्पताल, साह जनकपुरस्थित चिल्ड्रेन अस्पताल, राजा दीर्घायु अस्पताल, चाबहिल र गौतम रूकुम पश्चिमको चौरझरी मिसन अस्पतालमा काम गर्थे ।
प्रहरीका अनुसार उनीहरू नक्कली एसएलसी सर्टिफिकेट पेशेरै आइएस्सी पढे । आइएस्सीपछि एमबिबिएस पढ्न बंगलादेश गए । एसएलसी प्रमाण–पत्रबारे खुले पनि आइएस्सी प्रमाण–पत्र कहाँबाट लिए भन्ने यकिन गर्न प्रहरीले सकेको छैन । अन्य तीन जना विराटनगरबाट पक्राउ परेका हुन् भने अरुण कन्सल्टेन्सी सञ्चालक हुन् ।
एसएलसीमा विज्ञान विषयमा ४० नम्बर ल्याएका केहीले उक्त नम्बरलाई किर्ते गरेर ८० बनाएको समेत फेला परेको सिआइबीले जनाएको छ । उनीहरूले त्यहाँको कुन विश्वविद्यालयबाट एमबिबिएस पढेका हुन् भन्ने पनि खुल्ने क्रममै रहेको ब्युरोका निर्देशक डिआइजी सहकुलबहादुर थापाको दाबी छ । ‘अहिलेलाई हामीले उनीहरूले किर्ते गरेर बनाएको नक्कली एसएलसी सर्टिफिकेट मात्रै पहिचान गरिसकेका छौं’, थापाले भने, ‘बाँकी कुरा विस्तारै खुल्दै जानेछ ।’
उनका अनुसार यीमध्ये कसले कहाँ आइएस्सी पढे भन्ने पनि अनुसन्धानमै छ । एमबिबिएस गर्नुअघि आइएस्सी पास हुनुपर्छ । त्यही आइएस्सी पढ्न पनि एलएलसीमा आवश्यक प्राप्ताङक (जिपिए) चाहिन्छ । पक्राउ परेकासँग एलएलसीको त्यो जिपिए थिएन र जिपिए पुर्याउन किर्ते गरे भन्ने दाबी ब्युरोको छ ।

